राष्ट्रिय किशोर संजालको केन्द्रिय कार्य समितिमा राजन मनोनीत

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका ८ बिसरभोरा निवासी १७ वर्षीय राजन दास राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रिय कार्यसमितिमा मनोनीत भएका छन् । उनी ५६ वर्षीय जोगेन्द्र दास तत्मा र ४६ वर्षीय भुल्लीदेवी दासका छोरा हुन् ।

२०७८ साल साउन १४ गते बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनीू भन्ने नारासहित स्थापित राष्ट्रिय किशोर सञ्जाल नेपालमा हाल २३ जना केन्द्रिय सदस्य छन् । यस सञ्जालले लैङ्गिक हिंसा अन्त्य, लैङ्गिक समानता, जलवायु न्याय, यौन तथा प्रजनन अधिकार र अनलाइन सुरक्षासहितका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।

बिज्ञापन

सञ्जालले किशोरकिशोरीलाई सशक्त बनाउन विभिन्न कार्यशाला, प्रशिक्षण, अन्तरक्रिया र वकालत अभियान सञ्चालन गर्दै आएको छ । सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा बाल तथा किशोर अधिकारसँग सम्बन्धित नीति, कानून र राष्ट्रिय योजनाको अनुगमनमा सक्रिय भूमिका खेल्दै आएको सञ्जालले दुर्गम तथा सीमान्तकृत समुदायका किशोरकिशोरीलाई प्राथमिकताका साथ समावेश गर्दै आएको छ ।

गोदावरी, काठमाडौंमा साउन २६–२८ गते सम्पन्न तेस्रो राष्ट्रिय भेलामा सञ्जालका अध्यक्ष युवराज चापागाईं, पूर्वअध्यक्ष घनश्याम विश्वकर्मा, राष्ट्रिय सभा विकास मामिला तथा सुशासन समितिकी सभापति कमला देवी पन्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्यसचिव इन्द्रा देवी दकाललगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

सो भेलामा सातै प्रदेशका प्रतिनिधि किशोरकिशोरीको सहभागिता थियो । सञ्जालले सामाजिक अवरोध तोड्दै किशोरकिशोरीलाई सूचित, सशक्त र भविष्य निर्माणमा सक्रिय बनाउने लक्ष्य लिएको छ ।