सशस्त्र प्रहरीका डीएसपीको धन्दा : ६ सय बोरा चिनी बरामद गरेर ५ सय बोरा गायब

जनकपुरधाम । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेदेखि नै मातहतका निकायलाई निरन्तर भन्दै आएका थिए–सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडाइ गर्नु ।

उनले यो पनि भन्दै आएका थिए–सीमा इलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको छ । त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नासाथ कुनै पनि कमान्डरलाई छानबिन र कारबाहीको भागिदार बनाइने छ ।

बिज्ञापन

अर्याल सशस्त्र प्रहरी महानिरीक्षक बनेको ४० महिना बितिसकेको छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार उनी अब ८ महिना मात्रै सशस्त्रको नेतृत्वमा रहन्छन् । बीचैमा ऐन आए त्यति समय पनि उनीसँग छैन ।

सशस्त्र प्रहरीमा स्वच्छ छवि बनाएका महानिरीक्षक अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि जति कडाइ गर्न निर्देशन दिएपनि, कमान्डरलाई छानबिन र कारबाहीको भागीदार बनाउने चेतावनी दिएपनि मातहतका अधिकृतहरूले एउटा कानले सुन्ने, अर्को कानले उडाउने गर्दै आएका छन् । बल्ल बल्ल पाइने कमान्डमा मस्ती नगरे कहिले गर्ने भन्ने सोच उनीहरूमा बढ्दै गएको पाइएको छ ।

यस्तै, पछिल्लो उदाहरण बनेका छन्–रौतहटका डिएसपीसहित सशस्त्र प्रहरीका केही अधिकृतहरू।।।

उनीहरूमाथि तस्करी गरेर नेपाल भित्र्याएको सामान बरामद गरी सबै सामान भन्सार नबुझाएको आरोप लागेको छ । र, यो अभियोगमा रौतहट गणका डीएसपी अमर लामासहित एक दर्जन सशस्त्र प्रहरीहरू छानबिनका लागि बाहिनीमा तानिएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकाल (बाहिनीपति) नेतृत्वको नम्बर २ बाहिनीले उनीहरूमाथि छानबिन गरिरहेको छ । उनीहरूलाई बाहिनी कार्यालयले सशस्त्र प्रहरी मुख्यालयमा थप कारबाहीका लागि समेत पठाएको छ । अहिले डीएसपी लामासहित त्यसमा मुछिएकाहरूलाई सशस्त्र प्रहरी मुख्यालयमा बोलाइएको छ ।

लामासहितले गरेको के हो??

अहिले रौतहट गणको गणपति छन् सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेत । उनकै मातहतका डीएसपी लामासहितले यो उधुम मच्चाएका हुन् । लामा सिसं ६ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीएसपी हुन् । सिसं ६ बेसिककै डीएसपी गोविन्द पोखरेलले पनि २ नम्बर प्रदेशकै एउटा बीओपीमा हुँदा तस्करसँग मिलेर सशस्त्र प्रहरीको बदनाम गरेका थिए । त्यसबेला उनलाई बाहिनी कार्यालयमा फिर्ता बोलाइएको थियो । त्यसपछिको सरुवामा सोलुखुम्बु गुल्मको कमान्ड गरेका उनले ८० प्रतिशत जनशक्तिलाई बिदा छाडेर राशनमा लुट मच्चाएको उजुरी पनि सशस्त्र मुख्यालयमा परेको थियो ।

रौतहटको चन्द्रनिगाहपुरका सुनिल जयसवाल त्यस क्षेत्रमा तस्करका बादशाह भनेर चिनिँदै आएका व्यक्ति हुन् । यस्तै शम्भु साहले पनि त्यस क्षेत्रमा तस्करी धन्दा चलाउँदै आएका छन् । रौतहटमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्रै नभएर प्रदेश प्रहरी कार्यालय र बाहिनी समेतलाई मिलाएर उनीहरूले अवैध धन्दा चलाएको वर्षौं भइसकेको छ । उनीहरूको धन्दा नै कपडा, चिनी, मोटर पार्टसका सामानहरूको तस्करी हो ।

खासमा जयसवाल र साहको तस्करीको सामान पक्राउ गर्ने आँट त्यहाँ हत्तपत्त कसैले गर्दैनन् । तर रौतहट गणका डीएसपी लामाले भने आफै सामान बरामद गर्ने अनि आफैले फिर्ता गरिदिने नयाँ रणनीति अख्तियार गरे । पछिल्ला दिनमा उनको टोलीमाथि बरामद सबै सामान भन्सार नबुझाएर गायब पारिएको चर्चा छ ।

डीएसपी लामाको कमान्डमा खटिएको टोलीले गरूणा नजिकै शिवनगर भन्ने ठाउँमा छापा मारेर ६ सय बोरा भन्दा बढी चिनी बरामद गरेको थियो । तर भन्सारमा बुझाउँदा १०६ बोरा मात्रै बुझाएको खुलेपछि सशस्त्र मुख्यालयमा समेत हलचल मच्चिएको छ । लामाको टोलीमाथि यसरी बरामद गरिएको चिनी पब्लिक गाडी र पब्लिक जनशक्ति प्रयोग गरेर गायब बनाएको आरोप पनि लागेको छ । यसबाट डीएसपी लामाको टोलीले २० लाख रुपैयाँभन्दा बढी आर्जन गरेको हुनसक्ने अनुमान गरिएको छ । यो प्रकरणको भिडियो र फोटो नै सशस्त्र मुख्यालयले पाइसकेको स्रोतको भनाइ छ । लोकपथ