मधेशमा छठ पर्वको विशेष सुरक्षा योजना : ७ हजार प्रहरी परिचालन, मादक पदार्थ सेवन र झैझगडा नियन्त्रण गरिने : डिआईजी थपलिया

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख डिआईजी गोविन्द थपलियाले जनकपुरधाममा जानकारी दिँदै भने, छठ पर्वमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, भिडभाडमा अव्यवस्था सिर्जना गर्ने लगायतका सम्भावित घटनालाई रोक्न विशेष योजना लागू गरिएको छ ।

उनका अनुसार प्रदेशभरका आठ वटै जिल्लामा लागू हुने गरी सात हजार प्रहरी परिचालन गरिएको छ । प्रहरी परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र नागरिक पोसाकका सुरक्षाकर्मी समेत समावेश गरिएको उनले बताए ।

बिज्ञापन

थपलियाले प्रहरी बललाई घाट, तालाब, नदी किनार, बजार क्षेत्र र राजमार्गहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको बताए । उनले भने, छठ पर्व आस्थासँग जोडिएको धार्मिक र सांस्कृतिक पर्व हो । त्यसैले सुरक्षाका सबै संयन्त्र जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न खटिनेछन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने व्यक्तिमाथि कडा कारबाही गरिनेछ । साथै, भिडभाड हुने स्थलहरूमा सिसी क्यामेरा निगरानी, सुरक्षा चौकी र मोबाइल गस्ती टोली सक्रिय रहनेछन् ।