
काठमाडौं । अनिल साह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित हात पारेको छ ।
माज सदाकत र अनिल साहको अर्धशतकमा जनकपुर बोल्ट्सले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।




पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ । जनकपुरले यो जितबाट प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।

उता चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो । ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।
पाकिस्तानी युवा अलराउण्डर माजले ६३ रन बनाए । माजले एनपीएलमा पहिलो अर्धशतक बनाउने क्रममा ३० बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरी ६३ रन जोडे । माजले २४ बलमै अर्धशतक प्रहार गरेका थिए ।
अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध ड्रप भएका अनिल चितवन विरुद्ध प्लेइङ एघारमा फर्कँदै सानदार ब्याटिङ गरेका थिए । उनले ६१ रन बनाए ।
अनिलको कप्तानीमा जनकपुरले सुरुवाती तीन खेलमा हार व्यहोरेपछि चौथो खेलमा दक्षिण अफ्रिकी बलर वायन पार्नेललाई जनकपुरले कप्तान बनाउँदै अनिललाई ड्रप गरेको थियो ।
कप्तानीमा पार्नेल नै निरन्तरता पाउदा अनिलले पाँचौ खेलमा वान डाउनमा ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
माज सदाकत र आसिफ शेखले पहिलो विकेटका लनगि ४५ रनको साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुवात दिलाएका थिए । आसिफ १७ बलमा १८ रन बनाएर छैटौं ओभरमा आउट भए ।
त्यसपछि माजले अनिल मल्लसँग दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । माज र अनिलले ७९ रनको साझेदारी गरेका थिए ।
आदित्य महताले ७ बलमा २ चौका र १ छक्का मद्दतमा अविजित १८ रन जोडे ।
बलिङमा चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १-१ विकेट लिए ।
मालान र अर्जुनको शतकीय साझेदारी
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविड मालानको उत्कृष्ट ब्याटिङमा २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।
चितवनक लागि मालान र अर्जुन साउदले पहिलो विकेटका ११२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए ।
चितवनले नियमित ओपनर दीपक बोहरालाईलाई ड्रप गर्दै आज अर्जुन साउदलाई डाविड मालानसँग ओपनिङ गराएको थियो । जुन फलदायी भयो ।
मालान र अर्जुनले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । दुवै ओपनरले अर्धशतक पनि प्रहार गरे ।
यस सिजन चौथो शतकीय साझेदारी थियो भने पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । यस्तै पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी पनि हो ।
यसअघि सुदूरपश्चिमका विनोद भण्डारी र जोश ब्राउनले पोखरा एभेन्जर्सविरुद्ध पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए ।
ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याटर अर्को छेउबाट आउट भएका थिए ।
मालानले १९औं ओभरमा आउट हुनुअघि ५४ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८० रन जोडे । जनकपुरका माज सदाकतले मालानलाई १९औं ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा पारेका थिए ।
यस्तै यस सिजन पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५२ रन बनाए । उनलाई निकोल लफ्टी इटनले सञ्जय कृष्णमूर्तिबाट क्याचआउट गराएका थिए ।
१४औं ओभरको चौथो बलमा ५२ रन हुँदा अर्जुनको क्याच आदित्य महताले छाडेका थिए । तर, लगत्तै अर्को बलमा कृष्णमूर्तिले क्याच गर्दै आउट गरेका हुन् ।
तेस्रो क्रममा ब्याटिङमा आएका सैफ जैब ५ बलमा ७ रन बनाएर १५औं ओभरमा आउट भए । त्यस्तै यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका रबि बोपारा पनि आज सस्तैमा आउट भए । बोपारा ५ बलमा ३ रन जोडेर आउट भए ।
अर्को छेउबाट लगातार विकेट जाँदा एक छेउ सम्हालेका मालान पनि १९औं ओभरमा आउट भएका थिए ।
कप्तान कुशल मल्लले अन्तिम ओभरमा दुई छक्का र एक चौकासहित १८ रन जोडेका थिए । मल्लले १४ बल खेल्दै २ चौका र २ छकक् मदतमा अविजित ३० रन जोडे ।
जनकपुरका लागि माज सदाकत, अनिल साह, रुपेश सिंह र लफ्टी इटनले समान एक/एक विकेट लिए ।
