2025-05-03

Close

काठमाडौं । दुई महिनाअघिको कुरा हो, रौतहटका एक युवा र युवति भागेर विवाह गर्छन् । युवतिको परिवारले शक्ति र पैसाको आडमा प्रहरी प्रशासनमार्फत् दमन गर्न खोजेपछि उनीहरुले सामाजिक सञ्जालमा एक संयुक्त भिडियो संदेश जारी गरे ।

जसमा युवतिले आफू राजीखुशी विवाह गरेको व्यहोरा खुलाउँछिन् । साथै, उनले आफूहरुमाथि कानुनको छिद्र प्रयोग गरी कुनै प्रकारको दमन अनि अत्याचार नगर्न पनि परिवार र सम्बन्धित निकायलाई भक्कानिँदै भिडियोमार्फत् आग्रह गर्छिन् ।

तर, युवक धिरेन्द्र यादवसहित उनका अन्य तीनजना आफन्तविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा मुद्दा दर्ता हुन्छ । युवतिको परिवारका विरेन्द्र महतोको नामबाट हुलाक हुँदै आएको अपहरण तथा शरीर बन्धक शिर्षकको जाहेरी प्रहरीले सामान्य अनुसन्धानसमेत नगरी दर्ता गरिदिन्छ । र, त्यससँगै प्रहरीले उनीहरुको खोजी सुरु गर्छ ।

प्रहरीले धिरेन्द्र र उनका अर्का आफन्त राजन यादव गरी दुई जनालाई तत्कालै पक्राउ पनि गर्छ । तर, मुद्दाको विश्लेषण गर्दा त्यसमा खासै ओज र ठोस प्रमाण नदेखिएपछि उनीहरु दुबै जनालाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिन्छ ।

यस्तै, रौतहटकै राजदेवी नगरपालिका १ का २५ वर्षीय गजेन्द्र दासमाथि २०७९ फागुन २४ मा निर्मम कुटपिट हुन्छ । सोही क्रममा उनको मृत्यु हुन्छ । पीडित परिवारको अनेकन गुहारपछि बल्लतल्ल जाहेरी दर्ता त भयो, तर आरोपित पक्राउ परेनन् ।

घटनाका प्रतिवादी स्थानीय २० वर्षीय रामनरेश राय यादवलाई पक्राउ गर्न कहिल्यै चाँसो नदेखाएको रौतहट प्रहरीले झण्डै दुई वर्षपछि पीडित परिवारलाई उल्टै झस्काउने गरी अप्रत्याशित रुपमा एउटा विज्ञप्ति जारी गर्यो, जसमा रामनरेश आफैं हाजिर भएको उल्लेख छ ।

आफैं हाजिर हुन आए सजायमा छुटको व्यवस्था रहे बमोजिम प्रतिवादीको परिवारले निवेदन दिएको र त्यसैबमोजिम रामनरेश हाजिर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कानुनी छिद्रको प्रयोग गरेर सजायमा छुट हुने गरी पीडकलाई हाजिर गराएको प्रहरीले मुद्दाको मिसिल पनि निकै फितलो बनाइदियो ।

राज्यबाट न्यायको आशा गरेर बसिरहेका मृतकका परिवारलाई यसले उल्टै आहत दिने काम भयो । यी दुबै घटनाका पीडित परिवारको आरोप छ, ‘ठूलो आर्थिक चलखेल भयो, प्रहरीले आर्थिक लाभ लिएर काम गर्यो, सत्य घटनामा मुद्दा दर्ता गर्न आनाकानी गर्ने प्रहरीले राजीखुशी विवाह गर्दा पनि अपहरण मुद्दा दर्ता गर्नु र कर्तव्य ज्यानजस्तो कसुरका प्रतिवादीलाई रेड कार्पेट ओछ्याउनुले यसलाई प्रष्टै पार्छ ।’

यी दुबै घटनाका अनुसन्धान अधिकृत हुन्, जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्रहरी निरीक्षक उमाशंकर प्रसाद । उमाशंकरले चाहना अनुकूल छिद्रहरु प्रयोग गरी कसरी कानुनलाई घुमाइघुमाइ प्रयोग गर्छन् भन्ने कुराको उदाहरण मात्रै हुन्, यी दुई घटना ।

जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडि पसल गर्ने एक स्थानीयका अनुसार यहाँ अधिकांश मुद्दामा आर्थिक चलखेल गरी ‘सफ्ट र हार्ड’ बनाउने काम हुँदै आएको र यसका लागि प्रहरीले विचौलियहरु परिचालन गरेका छन् । उनीहरुले मुद्दाको ठेक्का लिने, त्यो ठेक्का सकार्ने काम उमाशंकरले गर्ने ती स्थानीय बताउँछन् ।

‘उमाशंकरले गरेका गतिविधिलाई राम्ररी नियाल्ने हो भने ५ मध्ये ४ वटा काम गैरव्यावसायिक हुन्छ,’ नाम उल्लेख नगरिदिने शर्तमा उनीसँग काम गरेका प्रहरी नै दाबी गर्छन्, ‘मुद्दाहरुमा उनले तयार पारेको मिसिलको अनुसन्धान संगठनले गर्ने हो भने दुई मिनटमा उनी कारवाहीमा पर्छन् ।’

उमाशंकरका विषयमा प्रहरीका माथिल्ला निकायमा गुनासो नगएका भने होइनन् । तर, मनग्ये लाभ दिएर हाकिमलाई खुश राख्न सक्ने उनको खुबीका कारण ठूला हाकिमहरु पनि उनका लागि दाहिने रहने गरेको प्रहरी श्रोतको दाबी छ । ‘तपाई प्रमाणसहित पनि उनको विरुद्धमा गुनासो गरेर हेर्नुस्,’ साना दर्जाका एक प्रहरीले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, ‘हाकिम उनकै बचाउमा उत्रन्छन् ।’

अड्डा जमाएर १८ महिनादेखि रौतहटमै नेपाल प्रहरीले प्रहरी निरीक्षकसहित त्यसभन्दा माथिका प्रहरी अधिकृतलाई सामान्यतया एक वर्षभन्दा बढी कुनै ठाउँमा राख्दैन । तर, उमाशंकर १८ महिनादेखि जिल्ला प्रहरी कार्यालय, रौतहटमै अड्डा जमाएर बसेका छन् ।

२०८० साउन ३० गते जिल्ला प्रहरी कार्यालय, रौतहटको मानवस्रोत व्यवस्थापन शाखामा सरुवा भएर आएका उनी यहाँ भने प्रहरीका लागि आकर्षक मानिने मुद्दा शाखाको जिम्मेवारीमा छन् । तर, मुद्दा शाखासहित महिला सेल, मिटरब्याज शाखा, उजुरी तथा छानविन शाखा पनि उनकै नियन्त्रणमा रहेको श्रोतको भनाइ छ ।

जागिर अवधिमा अधिकांश समय मधेशकै आकर्षक प्रहरी कार्यालयमा बिताएका उनलाई रौतहट आएपछि तत्कालीन प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले मुद्दा शाखाको जिम्मेवारी दिएका थिए । खासमा २०८१ भदौ १७ मा भएको प्रहरी निरीक्षकहरुको सरुवामा उनी यहाँबाट सरुवा भइसक्नुपर्ने हो ।

तर, अहिलेका प्रहरी उपरीक्षक दिलिप घिमिरेको कार्यकालमा त उनी यहाँबाट सरुवा नै भएनन् । श्रोतका अनुसार, मधेशमा लामो समय काम गरेर यहाँ अवैध धन्दा गर्ने विचौलिया, तस्कर, व्यापारीलगायतसँग राम्रो सम्बन्ध भएका कारण काम गर्न सहज हुने भन्दै प्रहरी हाकिमहरुले उनको सरुवा थामिदिएका थिए ।

हामीले यस विषयमा प्रहरी निरीक्षक उमाशंकर र प्रहरी उपरीक्षक घिमिरेसँग पनि प्रतिक्रिया लियौं । प्रहरी निरीक्षक उमाशंमरले आफ्नो विषयमा आएका सबै कुरा निराधार रहेको दाबी गरेका छन् । प्रहरी उपरीक्षक घिमिरेले भने उमाशंकरको विषयमा आफूकहाँ त्यस्तो गुनासो नआएको र आए कानुन बमोजिम कारवाही हुने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर