जनकपुरधाममा रास्वपाले गर्‍यो समानुपातिक सांसदका उम्मेदवारसँग छलफल

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीले आज जनकपुरधाममा मधेश प्रदेशका उम्मेदवारहरूसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त छलफलमा मधेश प्रदेश समिति अन्तर्गत गठित उम्मेदवार छनौट उपसमितिका पदाधिकारी तथा मधेश प्रदेशभरिबाट विभिन्न क्लस्टरमार्फत समानुपातिक उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूको सहभागिता रहेको थियो ।

बिज्ञापन

छलफल कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, उम्मेदवार छनौट प्रक्रिया, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा मधेस प्रदेशमा पार्टीको भावी रणनीतिबारे गहन विचार–विमर्श गरिएको जनाइएको छ। सहभागी उम्मेदवारहरूले आ–आफ्ना सुझाव, अनुभव र अपेक्षा प्रस्तुत गर्दै पार्टीलाई अझ बलियो र जनमुखी बनाउने विषयमा धारणा राखेका थिए ।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा, राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका सभापति ई. तपेश्वर यादव, डा. जयप्रकाश महतो, अम्भु प्रसाद साहसहित रास्वपाका मधेश प्रदेश अन्तर्गतका विभिन्न उम्मेदवारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पारदर्शी र योग्यतामा आधारित उम्मेदवार छनौट प्रक्रियालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै मधेस प्रदेशको विकास, सुशासन र जनजीविकासँग जोडिएका मुद्दालाई केन्द्रमा राखेर पार्टी अघि बढ्ने बताएका छन् । रास्वपाले मधेस प्रदेशमा संगठन सुदृढीकरण र जनसमर्थन विस्तारका लागि यस्ता छलफल कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।