
जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको दाबी गरेका छन् । आइतबार जनकपुरधामस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासेठले सरकारले नैतिकताविपरीत सत्ता सञ्चालन गरिरहेको आरोप लगाउँदै यस्तो अवस्थामा निष्पक्ष चुनाव हुनेमा गम्भीर शङ्का व्यक्त गरेका हुन् ।
उनले भने, ‘सरकारमा बसेर खुल्लमखुल्ला गठबन्धन गर्ने, सिट बाँडफाँट गर्ने र को प्रधानमन्त्री बन्ने भन्ने जस्ता अराजनीतिक गतिविधि भइरहेका छन् । राजनीति नै गर्नुछ भने सरकारबाट राजीनामा दिनुपर्छ, होइन भने प्रधानमन्त्रीले त्यस्ता व्यक्तिहरूलाई बर्खास्त गर्नुपर्छ । त्यसो भए मात्र अन्य राजनीतिक दल र नेपाली जनताले चुनाव हुनेमा विश्वास गर्छन् ।’




महासेठले पार्टीका शीर्ष नेताहरूलाई काठमाडौँमै थन्क्याएर चुनाव गराउन नसकिने टिप्पणी गर्दै, यदि साँच्चिकै चुनाव गराउन चाहिएको हो भने पार्टीका नेताहरूले पाएका जिम्मेवारी हटाउनुपर्ने बताए ।

जेनजी आन्दोलनको सन्दर्भमा उनले नेकपा एमालेका १५८ वटा घरमा आगजनी गरिएको र नेपाली कांग्रेसका घरहरूमा पनि आगजनी भएको दाबी गरे । उनले ती घटनामा एमालेका प्रतिस्पर्धी दलका कार्यकर्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप लगाए । नख्खुस्थित जेल ब्रेकको घटनामा समेत तिनै दलका कार्यकर्ताको संलग्नता रहेको उनको भनाइ थियो ।
नेता महासेठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको व्यवहारप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार क्रियाकलापको संज्ञा दिए । आफ्नो घर आगजनीको विषयमा बोल्दै उनले ‘मेरो घर जानीजानी जलाइएको हो’ भन्दै आफूले भ्रष्टाचार गरेर घर नबनाएको स्पष्ट पारे ।
