
काठमाडौं । गएको भदौ २३ र २४ को जेन–जी आन्दोलनमा निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बर्ष अधिकृत –२०८२ को रुपमा सम्मान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको २५औं स्थापना दिवसको अवसरमा प्रधान कार्यालय हल्चोकले आज बिहान आयोजना गरेको प्रभातकालीन विशेष कार्यक्रममा नगद २५ हजार रुपैयाँसहित आईजी एपीएफ कमेन्डेशन र कदरपत्र प्रदान गरेको हो ।




भदौ २४ गते कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमाथि तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति डिएसपी कोइरालाको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले परिस्थिति नियन्त्रणमा लिई थप क्षति हुनबाट जोगाएको थियो ।

सुरक्षा बलको उच्च पेशागत क्षमता, धैर्यता र संवेदनशीलताका साथ प्रदर्शनकारीहरुलाई आयोगको मुख्य गेटमै शान्तिपूर्वक सम्झाई–बुझाई तथा भीड आक्रामक हुँदैगएपछि नियन्त्रित बल प्रयोग गरी भीडलाई तितरबितर गर्दै आयोगको संरचना, कागजात र सम्पत्ति सुरक्षित गरेको थियो ।
यसअघि निर्वाचन आयोगको सुरक्षामा महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै निर्वाचन आयोगले पनि तत्कालीन गुल्मपतिलाई सम्मान गरिसकेको छ ।
