
काठमाडाैं । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले जिल्लाहरूमा थप जनशक्ति खटाउन थालेको छ । सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी प्रधान कार्यालयले तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टरलाई खटाएको छ ।
काठमाडौं उपत्यकाभित्र कार्यरत रहेका प्रहरी अधिकृतलाई अप्रेसन कमान्डरका रूपमा विभिन्न क्षेत्रमा खटाइएको हो । थप मद्दतका लागि खटिएका उनीहरूले आइतबारदेखि तोकिएको क्षेत्रमा जिम्मेवारी सम्हाल्नेछन् ।




तराईका जिल्लामा बढी सुरक्षा चुनौती रहेको र जनशक्ति अपुग भएकाले उनीहरूलाई परिचालन गरिएको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । ‘तुलनात्मक रूपमा सुरक्षाका दृष्टिकोणले तराईका जिल्ला बढी संवेदनशील छन्,’ उनले भने, ‘सुरक्षा चुनौतीको विश्लेषण गरेर तराईमा थप अधिकृत खटाउने निर्णय भएको छ, सकेसम्म एउटा पालिकामा दुईजना इन्स्पेक्टर रहने गरी प्रहरी परिचालित हुन्छन् ।’

विगतका निर्वाचनमा तराईका जिल्लामा बढी समस्या हुने गरेका छन् । त्यसबाट पाठ सिकेर उच्च संवेदनशील मतदानस्थललाई केन्द्रित गरी वरिष्ठ प्रहरी अधिकारीहरू ती क्षेत्रमा खटाउन लागिएको छ । तराईका जिल्लामा मतदाता र मतदान केन्द्र पनि धेरै छन् ।
पहाडी तथा हिमाली जिल्लामा भने प्रहरी जनशक्ति लगभग पर्याप्त रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यद्यपि, केही जिल्लामा थप जनशक्ति खटाउने तयारी छ ।
उपत्यकाबाट १३ हजार जनशक्ति बाहिर खटाउने तयारी
प्रहरी प्रधान कार्यालय तथा उपत्यकाका प्रहरी कार्यालयमा कार्यरत करिब १३ हजार प्रहरीलाई उपत्यकाबाहिरका जिल्लामा खटाइने भएको छ । फागुनको दोस्रो सातादेखि उनीहरूलाई खटाउने तयारी भइरहेको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा निर्वाचनका लागि पर्याप्त प्रहरी भएकाले उपत्यका प्रहरी कार्यालयमातहतका पनि केही उपत्यकाबाहिर खटाउने तयारी छ । केही संवेदनशील जिल्लामा एसएसपीलाई खटाउने तयारी भइरहेको छ ।
निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्ना गरिसकेको छ । निर्वाचनमा प्रहरीलाई सघाउन नेपाली सेना पनि २१ माघदेखि ब्यारेकबाट निस्किसकेको छ । सेनाले कारागार, विमानस्थललगायत महŒवपूर्ण संरचनाको सुरक्षा पनि सम्हाल्न थालिसकेको छ ।
निर्वाचन विश्लेषण महाशाखा स्थापना
निर्वाचनविरोधी गतिविधिलाई निगरानी गर्न प्रहरी प्रधान कार्यालयले निर्वाचन विश्लेषण महाशाखा स्थापना गरेको छ । एसएसपीको कमान्डमा यस्तो महाशाखा स्थापना भएको हो ।
महाशाखालाई निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गरी सुरक्षा रणनीति बनाउने जिम्मेवारी दिइएको छ ।
पछिल्लो समय दुर्गा प्रसार्इं निर्वाचनविरोधी गतिविधिमा सक्रिय रहेको प्रहरीको सूचना छ । ‘कतैबाट परिचालित भएर उनी यस्ता गतिविधिमा लागेकोजस्तो देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘अन्य केही साना समूह पनि चुनावविरोधी गतिविधिमा लागेका छन् ।’
