
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेसको माग पूरा गराउन पार्टी दृढतापूर्वक लाग्ने बताएका छन्। ‘जनतासँग माओवादी : तराई-मधेस अभियान’ अन्तर्गत धनुषाको हंसपुरमा आयोजित सभामा उनले मधेसी तथा उत्पीडित समुदायको सहयोगकै कारण माओवादी आन्दोलन सफल भएको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले मधेसको विकासका लागि हुलाकी राजमार्गको निर्माण कार्य छिटो सम्पन्न गराउन माओवादी केन्द्रले दबाब दिने बताए। साथै, कमला पुलको शीघ्र निर्माणका लागि स्थानीयको मागप्रति पार्टीको समर्थन रहेको उनले स्पष्ट पारे।




भूमि सम्बन्धी अध्यादेशबारे बोल्दै उनले यस विधेयक गरिब तथा विपन्न जनताको पक्षमा नभएको आरोप लगाए। पूँजीपति तथा भूमाफियालाई लाभ पुग्ने भएकाले यो विधेयक कुनै हालतमा पारित हुन नदिने उनले बताए।

उनले माओवादी केन्द्र हाल कुनै गठबन्धनमा नरहेको र जनताको भावना बुझ्न ‘घर–घर अभियान’ सञ्चालन गरिरहेको उल्लेख गरे। कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले मधेसी जनताको पक्षमा पार्टी सधैं इमानदार रहेको दाबी गरे।
                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          