डिएसपी बढुवाको तयारी, विवादरहित बनाउने प्रयासमा आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीमा नायब उपरीक्षक (डिएसपी) बढुवाको तयारी भएको छ । संगठनमा २१ वटा डिएसपी पद रिक्त छ ।

बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले लबिङ सुरु गरेका छन् । रिक्त रहेका २१ डिएसपी पदका लागि १२९ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा छन् ।

बिज्ञापन

प्रतिस्पर्धीहरूमध्ये २०६४ सालमा भर्ना भएका एक जना इन्स्पेक्टर, २०७१ सालमा बढुवा भएका समूहका चार जना र बाँकी १२४ जना २०७२ सालमा भर्ना भएको टोलीका इन्स्पेक्टर रहेका छन्सि

नियारिटीको आधारमा अगाडिका पाँच जना बढुवा सूचीमा पर्ने निश्चित देखिए पनि बाँकी १६ पदका लागि १२४ जनाबीच कडा प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको छ ।

स्रोतका अनुसार सिनियारिटीलाई मात्र आधार मान्दा संगठनमा लामो समय योगदान दिएका अन्य प्रहरी अधिकृतहरू अन्यायमा पर्ने जोखिम पनि छ । यही द्विविधाका कारण प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की डीएसपी बढुवालाई विवादरहित बनाउने प्रयासमा लागिपरेका छन् ।

संगठनभित्र डिएसपी बढुवा निर्णय लिनु ‘ढुंगा चपाए जस्तै’ कठिन बनेको टिप्पणी हुन थालेको छ ।

प्रतिस्पर्धामा रहेका १२४ जना इन्स्पेक्टरमध्ये करिब २५ देखि ३० जना विभिन्न समयमा कारबाहीमा परेका व्यक्तिहरू रहेको बताइन्छ । यद्यपि उनीहरू नै अहिले बढुवाको दौडमा अगाडि रहेको स्रोतको दाबी छ ।

आईजीपी कार्की भने कारबाहीमा परेकाहरूलाई बढुवा गर्न नहुने अडानमा छन् । प्रहरी महानिरीक्षक कार्की राजनीतिक आडमा बढुवा ननिस्किने बताउँछन् । संगठनमा राम्रो र सक्षम प्रहरी अधिकृतलाई असर नपर्ने गरी बढुवा गर्नुपर्ने पक्षमा आफू रहेको आईजीपी कार्कीले बताए ।

प्रहरी व्यवस्थाअनुसार एसपीसम्म बढुवाको अधिकार आईजीलाई छ । तर, राजनीतिक दल निकटका केही व्यक्तिहरूले कारबाही पाएका इन्स्पेक्टरहरूको पक्षमा दबाब दिइरहेको चर्चा संगठनभित्र छ ।