
विराटनगर । मोरङको ईलाका प्रहरी कार्यालय लेटाङले ड्रोनबाट गस्ती सुरु गरेको छ । लेटाङ क्षेत्रमा अपराध अनुसन्धान र आपतकालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने भन्दै ड्रोनको प्रयोग सुरु गरेको हो ।
शुक्रबार ईलाकाले सुरु गरेको ड्रोन प्रविधिको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले गरे । जिल्लामा ईलाका तहले ड्रोनको प्रयोग सुरु गरेको पहिलो पटक हो । यसअघि सोही ईलाकाले हिरासत लाइबेरी सुरु गरेको थियो ।




ड्रोन प्रविधिको उद्घाटन गर्दै घिमिरेले आधुनिक प्रविधिको प्रयोगले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने बताए । ‘दुर्गम र भौगोलिक रूपमा जटिल क्षेत्रमा ड्रोनको प्रयोगले प्रभावकारी निगरानी र खोज-उद्धारमा मद्दत पुग्नेछ,’ उनले भने ।

मोरङ प्रहरी प्रमुख प्रमुख, प्रहरी उपरीक्षक कवित कटुवालले प्रविधिमैत्री सुरक्षा प्रणालीलाई सफल बनाउन स्थानीय तह, नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताए ।
ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख, प्रहरी निरीक्षक सागर साहका अनुसार ड्रोनलाई दैनिक गस्ती, ट्राफिक व्यवस्थापन, वन क्षेत्रको निगरानी र आपतकालीन घटनामा प्रयोग गरिनेछ ।