
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मधेश प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको बैठकमा भएको मतदानमा उपस्थित १०० जना प्रदेश सभा सदस्यहरूमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको सभामुख रामअशिष यादवले घोषणा गरेका हुन् । मतदानमा तटस्थ मत भने शून्य रहेको थियो ।




नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

हाल मधेश प्रदेश सभामा १०२ सदस्य कायम रहेका छन् । प्रदेश सभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४, जनमत पार्टीका १२, नेकपाका १५, जसपा नेपालका २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १–१ जना सांसद रहेका छन् । यसअघि प्रदेश सभामा १०७ सदस्य रहेका थिए ।
यसअघि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले शुक्रबार दिउँसो १ बजे विश्वासको मत लिने निर्णय गरेको थियो । सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिएका हुन् ।
विश्वासको मत प्राप्त भएसँगै सरकारलाई निरन्तरता मिलेको छ । सत्ता गठबन्धनले बहुमत सुरक्षित गर्न तीव्र राजनीतिक सक्रियता बढाएको थियो ।