अप्पन जनकपुर
सिरहा । राजस्व अनुसन्धान कार्यालय इटहरीले तीन दिनदेखि सिराहामा लगातार छापा मारेको छ । राजस्व अनुसन्धानको टोलीले सिराहामा विशेष निगरानी बढाएको छ ।
सुराकीको आधारमा खटिएको राजस्व अनुसन्धानको टोलीले आज बिहान सीमावर्ती सिराहा नगरपालिका– १५ बुधौराबाट भन्सार छलेर लुकाइराखेको लत्ताकपडा बरामद गरेको हो ।
छापा मर्ने क्रममा करिब ३२ लाख मूल्यको १६ गाठ लत्ताकपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले बताए ।
गत शनिबार राजस्व अनुसन्धानको टोलीले सिराहा नगरपालिका– १५ वाट ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो । आइतबार दिउँसो भन्सार छली ल्याइएको लत्ताकपडा बोकेको ट्रकलाई चोहर्वाबाट नियन्त्रणमा लिएको थियो ।
ठूलो परिमाणमा भन्सार छलीका लत्ताकपडा बरामद भएपछि सशस्त्र प्रहरीका सिराहा प्रमुख एसपी प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडरका प्रमुख डिएसपी रामहरि खड्कालाई सशस्त्र प्रहरीको बर्दिबास बाहिनी तानिएको छ ।