जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्वर २ को सभापति र महासमिति सदस्यका लागि आज मतदान हुँदैछ ।
बिदेह नगरपालिकाका ६ तीनकौरियास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा विहान १० बजेबाट मतदान सुरु भएको हो । दिउँसो ४ बजेसम्म मतदान जारी रहने कांग्रेस क्षेत्रीय निर्वाचन समितिले जनाएको छ ।
क्षेत्रीय सभापतिका लागि साधु भनेर चिनिने शिवशंकर कुमार गोइत, नवीन कुमार गोहिवार र भूपनारायण यादव उम्मेदवार छन् । साधु संस्थापन पक्षका छन् । नवीन र भूपनारायण दुबैजना शेखर कोइराला समूहकै छन् ।
साधुलाई पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य मुक्ता यादव र पुराना नेता आनन्द ढुंगानाको समर्थन छ । सोही क्षेत्रमा पर्ने हंसपुर नगरपालिकाका मेयर प्रदिप यादव र कमला नगरपालिकाका मेयर विशेश्वर यादव पनि साधुकै पक्षमा उभेका छन् ।
नविनलाई पूर्व सांसद दिनेश प्रसैला मैदानमा उतारेको स्रोतको दावी छ । क्षेत्र नम्वर २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव भूपनारायणलाई जिताउन माहोल बनाइरहेका छन् । पूर्व सांसद शिवधारी यादव पनि भूपनारायणकै पक्षमा छन् ।
उम्मेदवारहरुभन्दा पनि केन्द्रीय नेताहरु आफ्ना पक्षका नेतालाई क्षेत्रिय सभापति बनाउन प्रतिष्ठा दाउमा लगाएका छन् ।
यस्तै सात महासमिति सदस्यका लागि पनि मतदान हुनेछ । जसमा ५ जना प्रत्यक्ष र २ जना समानुपातिकबाट निर्वाचित हुनेछ ।
महासमिति सदस्यका लागि प्रत्यक्षतर्फ ५ जनाका लागि सात जना ९दिनेश प्रसाद प्रसैला, विशेश्वर यादव, भोला चौधरी, महेश शंकर गिरी, राजदेव यादव, राजेश्वर गोइत, शिवधारी यादव र सुधिर गोइत० उम्मेदवार छन् ।
यस्तै समानुपातिकतर्फ २ जनाका लागि तीन जना ९उत्तीम प्रसाद मण्डल, रामचन्द्र मण्डल र शत्रुधन यादव उम्मेदवार छन् ।
धनुषा क्षेत्र २ मा औरही गाउँपालिका, शहिद नगरपालिका, विदेह नगरपालिकाका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिकाका ४ वटा वडा र जनकपुरधाम उपमहानगरपालिकाको २ वटा वडा पर्छ । ८२२ क्षेत्रीय प्रतिनिधिलाई मतदाता कायम गरिएको छ ।
मतदान स्थलमा उम्मेदवारहरु ठूला ठूला प्रचार सामग्री राखेर क्याम्प खडा गरेका छन् । त्यहाँ नेताहरु मतदातालाई आफ्ना पक्षको उम्मेदवारको पक्षमा लविङ गरिरहेको देख्न सकिन्छ । मतदातालाई घरबाट ओसार्न उम्मेदवारहरु दर्जनौं गाडी परिचालन गरेका छन् ।