अप्पन जनकपुर
बाँके । शहरी क्षेत्रमा खाना पकाउन ग्याँस, हिटर, इन्डक्सनको प्रयोग बढ्दो छ । तर, ग्रामीण भेगमा अझै पनि दाउरा र गुइँठा प्रयोग गरी खाना पकाउने गरिन्छ ।
दाउरा र गुइँठाको प्रयोग कम नहुँदा ग्रामीण क्षेत्रका महिला तथा बालबालिकामा दीर्घ रोगका समस्या देखिने जोखिम बढेको छ ।
बाँके र बर्दिया जिल्लाको कतिपय स्थानीय तहमा अझै पनि गाई गोरु र भैसिको गोबरबाट तयार हुने गुइँठा प्रयोग हुने गरेको छ ।
आफ्नो आर्थिक अवस्था कमजोर भएको र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदै गएको र आजभोलि काठ तथा दाउराको अभाव हुँदै गएपछि कोहलपुर वडा नम्बर १४ चिढिमार बस्तीका स्थानीयहरूले गोबरमा भुस पराल मिसाएर घाममा सुकाएर बनाइएको गुइँठालाई इन्धनको रुपमा प्रयोग गर्ने गरेको स्थानीय नानकलि चिढिमार बताउनु हुन्छ ।
खाना बनाउँदा प्रयोग गरिने गुइँठाबाट निस्कने धुवाँको कारण भान्सामा काम गर्ने महिला दिदिबहिनीहरुको स्वास्थ्यमा बढी प्रभाव गर्ने गरेको छ। धुवाँको कारण आँखामा रातो हुने दुख्ने , श्वासप्रश्वासमा समेत समस्या हुने गरेको छ ।
प्राय विपन्न समुदायका मानिसहरूले प्रयोग गर्ने गुइँठाका कारण आँखा र श्वासप्रश्वासमा बढी समस्या हुने गरेको चिकित्सकको भनाई रहेको छ ।
चिसो मौसममा अधिकास मधेसी समुदायका परिवारहरूले बढी गुइँठाको प्रयोग गर्ने गर्छन् । यो समय बस्तीमा जाने हो भने घरको आँगन छाना अनि घरको भित्ता भित्तामा र खेतका गरामा गुइँठा सुकाएको देखिन्छ ।
इन्धनको रुपमा गुइँठाको प्रयोग गर्दा कोठा तातो हुने र आगोमा खाना समेत पाक्ने हुँदा ग्रामीण क्षेत्रमा बढी गुइँठा प्रयोग गर्ने गर्छन् ।
तर कोठामा गुइँठा बालेमा त्यसबाट निस्कने कार्बन मोनो अक्साइडका कारण मानिसहरूमा निस्सासिएर मृत्यु हुने सम्मका घटना घट्ने भएका कारण सजगता अपनाउनु पर्ने हुन्छ । आर्थिक अभावका कारण ग्याँस चुलो किन्ने, विद्युतीय सामग्री प्रयोग गरी खाना बनाउने अवस्था सबैको छैन । जस्ले गर्दा दाउरा र गुइँठामा धुवाँमा खाना बनाउनु पर्ने बाध्यता छ । धुवाँले गर्ने असरको बारेमा जानकारी नपाउँदा पनि वर्षौँदेखि गुइँठा र दाउराको प्रयोग भइरहेको छ ।
यस कुरालाई मध्ये नजर गर्दै धुवाँले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा जनचेतना फैलाउनु र दाउरा र गुइँठाको विकल्पमा ग्याँस चुलो, इन्डक्सन चुलो, हिटर लगायतको प्रयोगमा सहुलियत दिन सरकारले योजना सार्नु आवश्यक देखिन्छ ।