जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा मधेशमा नयाँ सरकार बन्ने सहमति भएको छ । त्यसको लागि शुक्रबार पाँच दलबीच सहमति भएको हो ।
सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत्व गर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन ।
जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) सम्मिलित हुने संघीय नेताहरूबीच सहमति भएको हो । जनमतबाट संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने तय छ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले सहमतिअनुसार माओवादीले अर्थसहितका मन्त्रालय पाउने पक्का भएको जानकारी दिए । उनले मन्त्रालय बाँडफाँडका विषयमा सरकारमा सहभागी हुने दलका बीच शनिबार छलफल हुने बताए ।
सहमति गरेका पाँच दलले शनिबार मन्त्रालय बाँडफाँडका विषय टुंगो लगाएर तथा प्रदेशसभा सदस्यका हस्ताक्षर संकलन गरी आइतबारसम्म सरकार बनाउनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नेछन् ।
माओवादी संसदीय दलका नेता साहले पाँचदलीय सहमतिपछि मौजुदा प्रदेश सरकार अल्पमतमा परेको र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्ने सम्भावना न्यून रहेकाले आफूहरू बहुमत सदस्यका साथ सरकार गठनका लागि दाबी पेश गर्ने बताए ।
माओवादीका भरत साहले पाँच दलबीच सहमति भईसकेको र जनमतका सँसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने तय भएको पुष्टि गरे ।