कमला नदीको बाढीमा फसेका ६ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा आएको बाढीमा फसेका ६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका ६ का ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम राई र ३५ वर्षीय अलादिन राईलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

बिज्ञापन

दाउरा लिन गएको बेला अचानक बाढीको बहाव बढेपछि उनीहरू फसेका थिए । स्थानीयले दिएको जानकारी पाएर सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरको टोली नदीमा पुगेर उनीहरूलाई ट्युब बोटको सहयोगले सकुशल उद्धार गरेको छ ।

बाढीले तटबन्धमा क्षति
कमला नदीको पश्चिमतर्फको तटबन्धमा बाढीले क्षति पुर्‍याएको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका ८ देखि सबैला नगरपालिका ४ पटेर्वासम्म तटबन्धमा क्षति पुर्‍याएको हो ।

तटबन्धमा क्षति पुर्‍याएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, धनुषाका एसपी भुवनेश्वर तिवारी, सशस्त्रका एसपी दर्शन गिरी, सबैलाका मेयर कारी राम यादवसहितको टोलीले निरीक्षण गरेका छन् ।

क्षतिग्रस्त तटबन्धको मर्मत तथा सुधारको काम तीन दिनभित्रमा सम्पन्न गर्न सम्बन्धित नगरपालिकालाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिए ।