 

कलैया, ५ फागुन
प्रेस युनियनको अनुशासनमा नरही निर्वाचनमा घात गरेको भन्दै नेपाल प्रेस युनियन बाराले छ जनालाई कारवाहीको सिफारिश गरेको छ ।
युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले नेपाल प्रेस युनियन केन्द्रिय कार्य समिति तथा अनुशासन समितिमा मंगलबार उनीहरु उपर कारवाहीको सिफारिश गरेका हुन्।
प्रेस युनियनमा आबद्ध रहेका पत्रकार.सिकेन्द्र पासवान, सत्यप्रसाद श्रेष्ठ, राकेश पाण्डेय, साजिर मंसुर, प्रियंका दास तथा उमेश दुबेलाई कारवाहीको सिफारिश गरिएको हो। सिफारिश पत्रमा भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तिनै तहको निर्वाचनका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय सचिवालयको निर्णय अनुसार सवै तहमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानललाई मतदान गर्ने सहमति भएको उल्लेख गरिएको छ।
सोही सहमति अनुरुप बारा जिल्लामा समेत सोही अनुसार भएको सर्वविदितै रहेको उल्लेख छ।
प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन बीच पद बाँडफाँडमा समेत कुनै मतभेद नभई टुङ्गिएको अवस्थामा नेपाल प्रेस युनियनकै साथीहरुबाट आफ्नै संगठनका उम्मेदवारलाई हराउने काम भएको सो पत्रमा उल्लेख गरिएको छ।
समाजवादी नेपालका उम्मेदवारलाई भोट माग्ने, संगठन बाहिरका विद्रोही उम्मेदवारका पक्षमा खुलेर मत माग्ने जस्ता गतिविधि गरेका जिल्लाका ६ जना युनियनकर्मी मित्रहरुलाई स्पष्टिकरण सोधिएको समेत सिफारिश पत्रमा उल्लेख छ।
आवश्यक कारवाहीका लागि जिल्ला कार्यसमिति बाराको बैठकबाट निर्णय भए अनुरुप नियमानुसार कारवाहीका लागि सिफारिस गर्दछु भनेर यादवले लेखेका छन्।
भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा युनियनको उम्मेदवारलाई घात गरी निर्वाचनमा हराउने सदस्यहरुलाई मिति २०८१ फाल्गुन २ गते बसेको जिल्ला कार्यसमितिको निर्णय अनुसार कारवाहीको लागि सिफारीस गरिएको जनाइएको छ।
कारवाही सिफारिशपत्रको बोधार्थ नेपाल प्रेस युनियन केन्दिय अनुशासन समिति, काठमाण्डौमा पठाइएको छ।




 
                 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          