जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गन आज (मङ्गलबार) जनकपुरधाम आउँदै छन् ।
उनी बिहान ११ बजे हेलिकोप्टर चढेर काठमाडौंबाट जनकपुरधाम आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
मधेश प्रदेससभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेका छन् । यसका लागि सांसदहरूलाई बिहान १० बजे प्रदेशसभामा बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
प्रधानमन्त्रीको आगमनलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन प्रजिअ कडरियाले जानकारी दिए ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री ओली आजै सिराहा प्रस्थान गर्ने कार्यक्रम रहेको छ, जहाँ उनी आफू नेतृत्वको दल नेकपा एमालेको जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।
‘प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर जनकपुरधाम विमानस्थलमा अवतरण गर्नेछ र प्रदेशसभा सम्बोधनपछि त्यहीँबाट सिराहाका लागि प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ,’ उनले नेपालभ्युजसँग भने ।
मधेसमा पछिल्लो समय राजनीतिक बहस, सङ्घीयता कार्यान्वयनको चुनौती र विकास निर्माणका कामको गति सुस्ताएको भन्दै आलोचना भइरहेको छ । यस्तोमा
प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणले नयाँ सन्देश दिने अपेक्षा गरिएको स्थानीय नेताहरूको भनाइ छ ।