जनकपुर : दिनदहाडै बैंक लुटपाटको प्रयास, नक्कली पेस्तोलसहित एक पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ रामचोकस्थित सेन्ट्रल फाइनान्स बैंकमा आइतवार दिउँसो एक युवकले नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास गरेका छन् ।

सर्लाही जिल्ला कविलासी नगरपालिका ८ का २८ वर्षीय संजय साह नामक व्यक्तिले बैंकमा प्रवेश गरी कर्मचारीहरूलाई डर त्रास देखाउँदै लुटपाट गर्ने प्रयास गरेका थिए । घटना देखेका सर्वसाधारणले सशस्त्र प्रहरी बल नं. ८ गणलाई तुरुन्तै खबर गरेका थिए ।

बिज्ञापन

सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर चेकजाँच गर्दा साहको साथबाट नक्कली पेस्तोल बरामद गरिएको हो ।

साहलाई तत्काल नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपछि नेपाल प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

प्रहरीले बैंक तथा वित्तीय संस्थाहरूमा सुरक्षा सतर्कता बढाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।