जनकपुरधाम । धनुषाको मिथिला-विहारी नगरपालिका वडा नं. ३ मा रहेको मावि मिथलेश्वर मौवाहीका विद्यार्थीहरू आन्दोलित भएका छन् । जनकपुरधाम–धनुषाधाम सडकखण्ड अन्तर्गत नगरपालिका कार्यालय अगाडि सडक अवरुद्ध गरी विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले टायर बालेर सडक जाम गर्दै नगरपालिका र विद्यालय प्रशासनविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले विद्यालयमा शिक्षाको गुणस्तर सुधार, खानेपानीको व्यवस्था, छात्रवृत्ति वितरण, कक्षा १० को रजिस्ट्रेसन फारम भराउने व्यवस्था मिलाउने र विद्यालयका प्रधानाध्यापक रामजिवन दाहालाई हटाउने लगायतका माग राखेका छन् ।
विद्यार्थीहरूका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिका र विद्यालय प्रशासनले समस्या समाधानतर्फ कुनै चासो नदेखाएको कारण बाध्य भएर सडकमा उत्रनु परेको हो ।
प्रदर्शन हिंसात्मक रूप लिने संकेत देखिएको छ । केही विद्यार्थीहरू नगरपालिकाको मूलगेट तोडफोड गर्दै जबरजस्ती प्रवेश गर्ने प्रयासमा रहेको जनाइएको छ ।
यस विषयमा अहिलेसम्म नगरपालिका वा विद्यालय प्रशासनको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।