प्रमुख समाचार
जनकपुरधाम, पुस ५ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २मा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुन लागेको बताउनु भएको छ ।
नेपाल तराई इन्जिनियर्स एशोसिएशनले जनकपुरमा आज आयोजना गरेको प्रदेश २मा इन्जिनियरिङ्ग कलेजको आवश्यकता विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुराको उदघोष गर्नु भएको हो ।
उहाँले प्राविधिक विश्व विद्यालय स्थापनाको लागी गृहकार्य अन्तिम चरणमा रहेकोले यसै महिना विधेयक सदनमा प्रस्तुत हुने विश्वास व्यक्त गर्नु भयो । केन्द्रको गिद्धे दृष्टिका कारण प्रदेश नं. २ को शैक्षिक विरासतमा ह्रास आएको उल्लेख गर्नु हुँदै उहाँले पुरानो गरिमा लाई पुनः स्थापित गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने प्रदेश सरकारको घोषणा अनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलको क्रममा रहेको जानकारी गराउनु हुँदै विधेयक पारित भए लगतै एक पालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुने समेत बताउनु भयो ।
शिक्षा नै विकासको पहिलो खुडकिलो रहेको बताउनु हुँदै उहाँले प्रदेश सरकार शिक्षामा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पार्नु भयो ।
एशोसिएशनका अध्यक्ष डा. ई. अजय झाको अध्यक्षतामा भएको उक्त गोष्ठीमा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, इन्जिनियर सत्यनारायण साह सहितका वक्ताहरुले इन्जिनियरिङ्ग संस्थाको आवश्यकता र औचित्य बारेृ आ–आफनो धारणा राख्नु भएको थियो ।
This will close in 20 seconds