काठमाडौं । पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको छ । यसँगै पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणबारे धेरैलाई चासो बढेको छ ।
उक्त जग्गा सट्टापट्टा भएको ठाउँ अरनिको राजमार्ग अन्तर्गत २२ किलो भन्ने ठाउँमा पर्छ । पतञ्जलिले साविक काभ्रे जिल्लाको नासिकास्थान (साँगा) र महेन्द्रज्योति गाविस तथा चलाल गणेश स्थान (हाल बनेपा नगरपालिका) मा ५९३ रोपनी ५ आना १ दाम १ पैसा जग्गा खरिद गरेको थियो ।
कम्पनीले धुलिखेलमा ८८ रोपनी १ पैसा १ दाम किनेको छ, त्यही जग्गामा मात्रै पतञ्जलि केन्द्र सञ्चालनमा छ । तर, उक्त विवादित कम्पनीले उत्पादन गरेको पानी सरकारी कार्यालयहरुमा छ्यापछ्याप्ती देख्न सकिन्छ ।
पतञ्जलि दिव्री जल लेखेको पानीको बोतल सरकारी कार्यालयहरुमा भेटिएको हो । प्रहरी प्रधान कार्यालय नक्साल, प्रहरी एकेडमी, उर्जा मन्त्रालयलगायत सरकारी कार्यालयहरुम उक्त पानी पुग्ने गरेको पाइएको हो । जुन तस्बिर हामीले कैद गरेका छौं ।
तत्कालीन प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहको नातेदार रहेका पानी संचालक अरुण केसीले प्रहरी प्रधान कार्यालय, प्रहरी एकेडेमीलगायत अन्य प्रहरी कार्यालयहरुमा उक्त पानी वितरण गर्न भ्याएका हुन् ।
सिंहकै जोडबलमा उक्त पानी प्रधान कार्यालयमा आएको एक प्रहरी अधिकृतले बताए । त्यतिमात्र नभएर उक्त पानी उर्जा मन्त्रालयसम्म पुग्ने गरेको पाइएको छ ।
ऊर्जामन्त्री दीपक खड्काका विश्वासपात्र बिचौलिया केसीको पछिल्लो समय सरकारी कार्यालयहरुमा हालीमुहाली छ । उनले आफ्नो पानी सम्पुर्ण सरकारी कार्यालयहरुमा पठाउने योजना बुनेका छन् ।
जबकी उक्त पानीको शुद्धतामा यसअघि पटकपटक प्रश्न उठेको थियो । तर, शक्तिको आडमा उक्त पानी उत्पादित कम्पनीलाई कुनै कारवाही भएन ।