अप्पन जनकपुर
महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु ५३ करोड ५१ लाख ४५ हजार ३०६ को बजेट सार्वजनिक गर्दै १५ औँ गाउँसभा मंगलबार सम्पन्न गरेको छ ।
सभामा पिपरा गाउँपालिकाकी उपाध्यक्ष वन्दना पाण्डेयले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो भने सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष राम जानकी यादवले गर्नुभएको थियो । कार्यक्रममा पूर्व कृषिमन्त्री हरिनारायण यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
उपाध्यक्ष पाण्डेयद्वारा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना लगायतका क्षेत्रमा प्राथमिकता दिइने उल्लेख गरिएको छ । उनले समावेशी विकास र सामाजिक न्यायलाई केन्द्रमा राख्दै गाउँपालिकाको समग्र विकास गर्ने योजनासहित बजेट र कार्यक्रम ल्याइएको जानकारी दिए ।
सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले भने, पिपरा गाउँपालिका अब इतिहास बन्दैछ । विकासका कामहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । हामी सबै मिलेर यसलाई नमूना पालिका बनाउनेछौं ।
उहाँले थप भन्नुभयो, पिपरा जनता अस्पतालमा अधिकांश स्वास्थ्य सेवा तथा सुविधा उपलब्ध गराइसकिएको छ । गाउँपालिकाका प्रत्येक विद्यालयमा पठनपाठनको व्यवस्था सुदृढ भइसकेको छ । कतै केही कमी कमजोरी बाँकी छ भने, ती पनि आगामी वर्षमा सुधार गरिनेछ ।
कार्यक्रममा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय उत्पादनमा आधारित रोजगारी सिर्जना, कृषि यान्त्रिकीकरण, शिक्षा र स्वास्थ्यमा गुणस्तर वृद्धि, सडक तथा खानेपानी पूर्वाधारको सुदृढीकरण जस्ता विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गरियो ।
गाउँसभामा वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, रतौली युवा क्लबका अध्यक्ष बैधनाथ चौधरी, स्थानीय कर्मचारी, पत्रकार, सुरक्षा निकाय, प्रशासनिक प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।