अप्पन जनकपुर
जनकपुरधाम । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय धनुषाका प्रमुख रोहित प्रसैलामाथि योजनाको रकम भुक्तानीमा कमिशन असुली गरेको गम्भीर आरोप लागेको छ ।
जनमत पार्टी निकट विद्यार्थी संगठन विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादवले प्रसैलाले चालु आर्थिक वर्षका योजनाहरूको भुक्तानी हुनु अघिनै ७ प्रतिशत कमिशन असुलेर मात्र भुक्तानी प्रक्रिया अघि बढाएको दाबी गरेका छन् ।
उनका अनुसार कार्यालयमा दर्ता भएका अधिकांश योजनाहरुमा निर्माण कार्य सम्पन्न भए पनि भुक्तानी दिनुअघि योजना कुल बजेटको ७ प्रतिशत कमिशन अग्रिम मागिएको छ ।
आजभोलि राती १२ बजेसम्म मात्रै भुक्तानी हुनेछ, तर भुक्तानीका नाममा दलाली र कमिशनको खेल चलेको छ, अध्यक्ष यादवले भने, सार्वजनिक सेवा क्षेत्रमा यस्तो खुला लुटलाई सहन सकिँदैन ।
उनले मधेशपत्रसंग कुरा गर्दै पर्यटन विकास कार्यालय धनुषाका प्रमुख रोहित प्रसैलाविरुद्ध छानबिन र कारबाहीको मागसमेत गरेका छन् । यस विषयमा प्रमुख रोहित प्रसैलाको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।