पीडित भन्छन् : न्यूरो अस्पतालको लापरबाहीले छोराको मृत्यु, चिकित्सक भन्छन् : हाम्रो अस्पतालमा मृत्यु भएको होइन

जनकपुरधाम । सामाजिक सञ्जालमा एउटा बुबाको चित्कार अहिले भाइरल भइरहेको छ । धनुषाको हंसपुर नगरपालिका–६ सोनिगमाका शम्भु साहले आफ्नै फेसबुकबाट पोस्ट गरेको उक्त भिडियो (बिहीबार) सम्म १२ लाख मानिसले हेरिसकेका छन् । उनले भिडियोमा छोरा आयुषको शव एम्बुलेन्समा राखेर जनकपुरको न्यूरो अस्पतालले जन–धन दुवै लिएको बिलौना गरिरहेको देखिन्छ । अस्पतालले पैसा हुँदासम्म लुटेको र सकिएपछि रेर्फर गरेको भन्दै कसैलाई अस्पतालमा नजान अनुनय पनि गरिरहेका छन् ।

गत माघ १९ गते शम्भुको १६ वर्षीय छोरा आयुष कुमार साह मोटरसाइकल दुर्घटनामा परे । दुर्घटनामा परी घाइते भएका साहलाई जनकपुरधामको न्युरो अस्पतालमा उपचारको लागि ल्याइयो । अस्पतालले दुई महिना उपचार गरे । तर, आयुषको स्थिति सुधार नभई झन् बिग्रिँदै गयो । त्यतिन्जेल सम्म अस्पताल पक्षले आयुषको बुबा शम्भु साहसँग आठ लाख रकम उपचार बापत लिइसकेका थिए । त्यसपछि आयुषको बुबा शम्भु पैसा दिन हच्किए ।

बिज्ञापन

‘अस्पतालले मलाई ठगिरहेको छ जस्तो भान भयो,’शम्भुले भने,‘मैले सुधार नभए पैसा दिन्न भने अनि उनीहरू रेफर गर्ने तयारी गर्न थाले ।’ पैसा नआउने देखेपछि उनीहरू बलपूर्वक चेक र तमसुक बनाएर रेर्फर गरेको आयुषको बुबा शम्भुको भनाइ छ ।

काठमाण्डौंस्थित ट्रमामा पनि दुई महिना उपचार भयो । जेठ २२ गते ट्रमामाबाट फर्किए । र, साउन २ गते आयुषको मृत्यु भयो । तर, आयुषका बुबा शम्भुका अनुसार ट्रमाका चिकित्सकहरूले केस पहिला नै बिग्रिसकेको हुनाले बचाउन गाह्रो भएको जवाफ दिएको बताए ।

‘ब्रेन खोलेर मिस्टेक गरेको छ, समयमा आएको भए ठिक हुन्थ्यो,’शम्भुले ट्रमाको चिकित्सकको कुरा उद्धृत गर्दै भने,‘केस पहिले नै बिग्रिसकेको बतायो ।’ आर्थिक अवस्था कमजोर रहेको र भएको सम्पत्ति पनि बिक्री गरेर उपचार गराइसकेका शम्भु अन्य अस्पताल जानेँ आट गरेनन् ।

शम्भुको श्रीमती रिंकु देवी साहले अस्पतालले खराब नियत राखेर उपचार गरेको बताइन् । आठ लाख नगद तिरिसकेका उनीसँग एक लाख ९० हजारको चेक औषधी बापत, पाँच लाख २६ हजारको चेक अस्पतालले लिए । तर, पनि सात लाख १६ हजारको रिंकुको श्रीमान् शम्भुसँग बलपूर्वक तमसुक बनाएको आरोप छ ।

शम्भु जस्तै पीडित छन्,धनुषा शहीदनगर नगरपालिका–५ बिर्ताका चन्देश्वर कापर उनको २२ वर्षीय छोरा जीवन कापरको पनि त्यही अस्पतालमा राखेर दुई महिना उपचार भयो । चन्देशवरसंग पनि आठ लाख लिए , तर, उनको छोरा गएको असार २७ गते मृत्यु भयो । चन्देश्वरले पनि न्युरो र त्यसको डाक्टर लुटेरा रहेको आरोप लगाए । ‘चार कठा जमिन बिक्री गरेर अस्पताललाई बुझाए । नपुग्दा फेरी गाउँबाट चन्दा सङ्कलन गरेर दिए,’उनले सुनाए,‘तर, पनि डाक्टरले छोरालाई बचाउन सकेनन् ।’ छोरालाई बेहोस बनाइ–बनाइ पैसा लुटेको उनको आरोप छ ।

अर्का पीडित छन् महोत्तरी औरही नगरपालिका–४ का रञ्जित कुमार रामको परिवार…रञ्जितको श्रीमती सङ्गीता कुमारी रामले श्रीमान् रञ्जितको न्यूरोमा एक महिना उपचार गराएको बताइन् । त्यस अवधिमा १५ लाख ९० हजार रुपैयाँ बुझाएको उनको दाबी छ । तर, अस्पतालकै लापरबाहीले श्रीमानको ज्यान भएको उनले गुनासो गरिन् । ‘सात दिनको उपचारपछि परिवारको सवैसँग कुराकानी ग¥यो । भिडियो कलमा पनि कुराकानी गर्न थाल्यो,’उनले स्मरण गर्दै भनिन्,‘हिँडडुल गर्न थालेको थियो। त्यसपछि अचानक पैसाको लोभमा बेहोस गरेर फेरी उपचार गरे । लुट्ने मनसाय राखेको थियो ।’ बिरामीले बदमासी ग¥यो भनेर अस्पतालले बेहोसको सुई दिएको परिवारलाई जानकारी गराएको थियो । काठमाण्डौंको चिकित्सकले पनि जनकपुरकै न्युरो अस्पतालको कमजोरीले मृत्यु भएको बताएका थिए ।

आयुष, जीवन र रञ्जित उपचारको क्रममा जनकपुरको न्यूरोमा मृत्यु हुने प्रतिनिधिमूलक घटना मात्र हुन् । कैयन परिवार शोकमा गएपछि घटना बाहिर आउँदैनन् भने कैयन घटना अस्पतालले नै दबाउने गरेका छन् ।

यी तीनै घटना अहिले मिडियामा आएपछि अस्पताल प्रशासनले गएको मङ्गलवार पत्रकार सम्मेलन समेत गरेको छ । उनीहरुले यो घटना झुटो भएको दावी गरे । ‘हामीले उपचार गरेको बिरामीको मृत्यु मेरो अस्पतालमा भएको छैनन् । यहाँबाट लगिसकेपछि मृत्यु भएको चिकित्सक राउतले नागरिकसँग भने’ हामीले सबै कुरा पत्रकार सम्मेलन गरेर भनिसकेका छौं, अझै केही बुझ्नु छ भने चिकित्सकलाई लिएर मृतकको घरमा गाएर बुझ्नुस । फोन गरेर ह्रास गर्ने काम नगर्नुस् ।’

मृतक आयुषका बुवा शम्भुले न्यूरो अस्पतालमा २०÷२२ लाखा रुपैयाँ नबुझाएको दाबी अस्पताल प्रशासनले गरेको छ । अस्पताल प्रशासनका अनुसार शम्भुले ३ लाख नगद र पाँच लाखको चेक मात्रै दिइएको छ ।

अस्पतालका चिकित्सक न्युरो सर्जन विजय राउतले वेस्ट सेवा दिइरहेको दाबी गरे । ‘वेस्ट टिम, वेस्ट मसिन राखेर उपचार गर्छौँ,’ उनले भने,‘अमेरिकामा हुने उपचार यही गरिरहेका छौँ ।’