मधेशमा आपराधिक गतिविधिमा कुनै सम्झौता हुँदैन : डिआइजी चतुर्बेदी

जनकपुरधाम । मधेश प्रदेशमा अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्बेदीले अपराधका विषयमा कुनै पनि किसिमको सम्झौता वा लापरबाही नहुने बताएका छन् ।

उनले प्रदेशभित्र विभिन्न खालका आपराधिक गतिविधि, तस्करी, अवैध कारोवार तथा कानूनविपरीतका क्रियाकलाप विरुद्ध प्रहरी शून्य सहनशीलताको नीति सहित अघि बढिरहेको जानकारी दिए ।

बिज्ञापन

प्रहरीलाई जनताको सुरक्षा र शान्ति कायम राख्ने जिम्मेवारी छ । अपराध गर्ने व्यक्ति वा समूहसँग मिलेमतो गर्ने वा सम्झौता गर्ने प्रश्नै आउँदैन । अपराध हुने बित्तिकै तत्काल ठाउँकै ठाउँमा कारबाही हुन्छ, उनले दृढताका साथ भने ।

डिआइजी चतुर्बेदीले जनताको विश्वास बिना प्रहरी प्रभावकारी नहुने उल्लेख गर्दै प्रहरी र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको बताए । उनले अवैध हतियार, लागुऔषध, तस्करी र हिंसात्मक गतिविधि नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।
हामीले मधेशलाई सुरक्षित, शान्त र कानूनी शासनमा आधारित प्रदेश बनाउन प्रतिबद्धता जनाएका छौं । त्यसका लागि अपराधी जेसुकै हैसियतको भए पनि कानुनको दायरा भित्र ल्याइन्छ, डिआइजी चतुर्बेदीले भने ।

उनको भनाइले मधेश प्रदेशमा अपराधविरुद्ध प्रहरीको कडा र दृढ भूमिकाको संकेत दिएको छ ।