जनकपुरधाममा जसपा नेपालद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरधाम । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवलाई फसाउने गरी गौर हत्याकाण्डलाई लिएर सर्वोच्च अदालतको परमादेश आएको भन्दै जसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको भानु चोकमा नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । वर्तमान सरकारविरुद्ध नारावाजी गर्दै जसपा नेपालका कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

मधेसलाई मरुभूमिकरणबाट जोगाउन आफ्नो अध्यक्षले भूमि विधेयकको विरोध गरेका कारण वर्तमान सरकार गौर हत्याकाण्डलाई प्रतिशोधको हतियारको रुपमा प्रयोग गरिरहेको आरोप मधेस प्रदेशसभाका प्रदेशसभा सदस्य रामअशिष यादवले बताए । उनले गौर हत्याकाण्ड तत्कालिन नेकपा माओवादीको मधेसी मुक्ति मोर्चाको नेतृत्वमा भएको आरोप समेत लगाए । उनले भने ‘गौर हत्याकाण्डपछि बनेको उच्चस्तरीय छानविनले समेत उपेन्द्र यादवलाई दोषी नबाएपछि षडयन्त्र स्वरुप उहाँलाई फसाउने प्रयास भईरहेको छ ।

बिज्ञापन

मधेस आन्दोलनबाट प्राप्त संघियता, समावेशिता, भाषिक अधिकार लगायतका उपलब्धीहरु समाप्त गर्ने षडयन्त्र अनुरुप अदालतको परमादेश आएको जसपा नेपालका नेता विसुनदेव साहले बताए । उनले नेपाली कांग्रेस नेकपा एमाले लगायतका नश्लिय दलहरुको इशारामा यस प्रकारको परमादेश आएकोमा आक्रोश व्यक्त गरे । अदालतको परमादेश फिर्ता नभएसम्म मधेससहित नेपाल भरी आन्दोलनको आँधी ल्याउने चेतावनी दिए ।
सर्वोच्च अदालतले १९ वर्ष अगाडी भएको गौर हत्याकाण्डको अनुसन्धान अगाडी बढाउन परमादेश दिएको थियो ।