
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा सोमबार साँझ सम्पन्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकले निर्वाचन अवधिमा सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको हो । बैठकमा जनकपुरधाम अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहट जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरू सहभागी थिए ।




बैठकमा प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । नेपाल वा भारतमध्ये कुनै पनि देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गर्ने प्रचलनअनुसार नेपालमा हुन लागेको निर्वाचनका लागि ७२ घण्टासम्म सीमा बन्द गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे ।

सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दका अनुसार बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छलि नियन्त्रण तथा दुवै देशबीच सूचना आदान–प्रदानजस्ता विषयमा समेत छलफल भएको थियो । बैठकमा सर्लाही, महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो ।
भारतको तर्फबाट सीतामढी जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरूको सहभागिता थियो । दुवै देशका सुरक्षा अधिकारीहरूले निर्वाचनका क्रममा सीमा क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउने र अत्यावश्यक बाहेकको आवागमन ७२ घण्टासम्म पूर्ण रूपमा रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल–भारत सीमामा सुरक्षा समन्वयका लागि यस्ता संयुक्त बैठकहरू नियमित रूपमा आयोजना हुँदै आएका छन्, जसमा दुवै देशका सुरक्षा अधिकारीहरू एक–अर्काको क्षेत्रमा पुगेर समन्वय गर्ने परम्परा रहँदै आएको छ ।
