शहीदनगरमा शिक्षकदेखि कार्यालय सहयोगीसम्म नियमविपरीत सरुवा, कांग्रेस नेता गोईतको निशानामा मेयर यादव

जनकपुरधाम । नेपाली कांग्रेसका नेता साधु गोइतले शहीदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवमाथि पद र शक्तिको दुरुपयोग गर्दै ‘राणा–राजतन्त्र जस्तो शासन’ चलाएको आरोप लगाएका छन् ।

उनका अनुसार मेयर यादवले नियम कानुन विपरीत शिक्षक सरुवासँगै कार्यालय सहयोगीको समेत सरुवा गरेका छन् । नेपालकै इतिहासमा पहिलो पटक कार्यालय सहयोगीको सरुवा गरिएको छ । यसको कानुनी आधार के हो भन्ने प्रश्नको जवाफ मेयरले दिनुपर्छ, गोईतले भने ।

बिज्ञापन

नगरपालिकाको वडा नं. २ चोराकोयलपुरस्थित दलित राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत भोरिल महरालाई वडा नं. ८ बिसरभोरास्थित विद्यालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

कर असुली र बजेट दुरुपयोगको आरोप

नेता गोईतले संघीय लोकतान्त्रिक व्यवस्थामा समेत मेयर यादवले किसानलाई खेति योग्य जग्गामा कर लगाउँदै जनताको मनोभावना विपरीत कर असुली गरेको गम्भीर आरोप लगाए । पञ्चायती व्यवस्थामा समेत नभएको किसानमाथि कर लगाइएको छ, उनले भने ।

त्यसबाहेक नगरपालिकाले चापाकल र कृषि सिंचाइका लागि साना ट्युबवेल सूचना बिना नै मापदण्ड विपरीत वितरण गरेको दाबी पनि गोइतले गरे । उनका अनुसार किसानी पेशामा निर्भर किसानलाई सुविधा नदिइ मेयरले आफ्ना नजिकका आसेपासे र कार्यकर्तामुखी ढंगले बजेटको चरम दुरुपयोग गरेका छन् ।

नगरप्रमुख यादवको स्पष्टीकरण

आरोपप्रति मेयर यादवले आफूले कुनै नियमविपरीत कार्य नगरेको दाबी गरेका छन् ।

शिक्षक सरुवाबारे उनले भने, शिक्षकको सरुवा समितिबाट निर्णय भइसकेको छ । दरबन्दी मिलान गर्ने काम बाँकी छ । कतिपय विद्यालयमा २५ जना विद्यार्थीमा १० जना शिक्षक छन्, भने कतै ५ सयभन्दा बढी विद्यार्थीका लागि ३ जना शिक्षक मात्र छन् । विद्यार्थीअनुपातका आधारमा दरबन्दी मिलाउने प्रक्रिया अघि बढाइएको हो ।

उनका अनुसार समितिबाट कार्यालय सहयोगी सरुवा गर्ने निर्णय भए पनि अहिलेसम्म कसैलाई सरुवा गरिएको छैन ।

चापाकल र साना ट्युबवेल वितरणबारे उनले भने, नगरपालिकाभरि ६२ वटा ट्युबवेल जडान गरिएको छ । ठूलो जमिन भएका किसानलाई सिंचाइ सुविधा पुगोस् भन्ने उद्देश्यले साना ट्युबवेल दिइएको हो । अहिलेसम्म १५–२० वटा मात्रै चापाकल वितरण भएका छन् । यसमा कुनै पक्षपात गरिएको छैन, नगरपालिकाभरिका जनतालाई समान रूपमा सम्मान गरिएको छ ।

खेती योग्य जग्गामा कर बढाएको विषयमा भने उनले त्यो निर्णय उपमेयरले गरेको बताउँदै आफूले पुनर्विचार गर्न भनेको स्पष्ट पारे । यो मेरो अधिकार क्षेत्रबाहिरको कुरा हो । उपमेयरज्यूले निर्णय गर्नुभएको हो। मैले रोक्न भनेको छु, उनले भने ।