

काठमाडौं । दैलेखका अमन (नाम परिवर्तन) १८ बर्ष भयो प्रहरी सेवामा प्रवेश गरेको । सहायक हवल्दार हुन उनले १७ वर्ष कुर्नपर्यो । जुन सहायक हवल्दार पद ३ वर्षअघि मात्र सिर्जना गरिएको थियो ।
उनी जवान हुँदा रिटायर्ड प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर प्रहरी नायब उपरीक्षक (डिएसपी) थिए । २०६३ भदौमा कुँवर डिएसपी हुँदा अमन भर्खरै प्रहरी सेवामा प्रवेश गरेका थिए ।



तर कुँवर आईजीपी भएर रिटायर्ड हुँदा पनि अमन भने अहिले सहायक हवल्दार भएका छन् । यदी बीचमा सहायक हवल्दार पद सिर्जना हुँदैनथ्यो भने उनी जवानमै हुन्थे । यसरी तल्लो दर्जाका प्रहरीमा बढुवा जाम हुँदा निराश उत्पन्न भएको छ ।

अमन एक पात्र मात्र हुन् । प्रहरी संगठनमा यस्तो भद्रगोल थुप्रै छ । हालका आईजीपी दिपक थापा तल्लो दर्जाका प्रहरीका समस्याहरुलाई समाधान गर्नुपर्ने बताउँदै आएका छन् । तर, सकिरहेका छैनन् ।
लामो समयसम्म एउटै पदमा बसेर काम गर्दा काम गर्ने जोस, जाँगरसमेत नभएको तल्लो दर्जाका एक प्रहरी कर्मचारी बताउँछन् । उनी भन्छन्, ‘एउटा क्यालेन्डर बनाएर बढुवा तथा सरुवा निकालिँदैन् नि तबसम्म तल्लो दर्जा पीडामै नै रहनेछ ।’
०६३ मा प्रहरी जवानमा नियुक्त भएका उनीहरु बढीमा प्रहरी सहायक निरीक्षक (असई) हुने देखिन्छ । कतिपय त बरिष्ठ हवल्दारबाट नै अनिवार्य अवकाशमा जान पनि सक्छन् । यसरी जुनियर अफिसरको अनुभव समेत गर्न नपाउँदै उनीहरु रिटार्यड हुने अवस्था छ ।
अहिलेको अवस्थामा सिपाहीमै भर्ना हुन पनि ‘प्लस टू’ पास गरेका हुन्छन् । तर, बिडम्बना यस्तो भयो कि ‘प्लस टू’ पास भएर सिपाहीमा छिरेको मान्छे जुनियर अफिसर नभई रिटार्यड हुँदा कस्को चाँहि प्रहरीप्रति आकर्षण बढ्ला??
प्रहरीमा नियुक्त हुँदा तालिमको अवस्थादेखि रिटार्यडसम्म उनीहरुको अवस्था एउटै रहँदा तल्लो दर्जाका प्रहरी कर्मचारीहरु निराश मात्र होइनन्, पछिल्लो समय धमाधम जागिर दिँदै पनि आएका छन् । यसका लागि राज्यको ध्यान पुग्न जरुरी छ ।
सिपाहीमा जागिर खाएको व्यक्तिले कमसेकम जुनियर अफिसरको अनुभव गर्न मात्र पायो भने पनि राम्रो देखिने अवकाशप्राप्त एक पूर्वआईजीपी बताउँछन् । उनी भन्छन्, ‘यसको लागि राज्यको ध्यान पुग्नैपर्छ । सँगै प्रहरी नेतृत्वले समेत चासो दिनपर्छ ।’
अझ अर्को समस्या नियुक्ति हुँदादेखि नै ती सिपाहीको खाने मेस, बस्ने ब्यारेक र शौचालय नै छुट्टै हुन्छ । अझैं पनि थाल बोकेर भान्सेसँग भात माग्नुपर्ने अवस्था छ । यस्तो विकराल समस्या हुँदाहुँदै पनि किन कसैको ध्यान पुग्न सक्दैन??