जेसीज नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन पुस ४ गतेदेखि ७ गतेसम्म जनकपुरधाममा हुने

जनकपुरधाम । जेसीज नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन यही पुस पहिलो सातादेखि जनकपुरधाममा हुने भएको छ । जेसीजका देशभरका १८६ शाखाका पदाधिकारी तथा केही अन्तर्राष्ट्रिय प्रतिनिधिसहित करिब चार हजार सहभागी हुने जनाइएको छ ।

जेसीज जनकपुरधामका अध्यक्ष मुकेश कुमार साहले सोमबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । उनका अनुसार पुस ४ गतेदेखि ७ गतेसम्म तिरहुतिया गाछीमा आयोजना हुने महाधिवेशनका लागि संरचनात्मक, प्राविधिक तथा आतिथ्यसम्बन्धी तयारी हुँदैछ ।

बिज्ञापन

राष्ट्रिय महाधिवेशनका प्रबन्ध निर्देशक तथा जेसीज जनकपुरधामका पूर्वअध्यक्ष सुधिर कुमार पंजियारले महाधिवेशनमा १८६ शाखाबाट प्रतिनिधि आउने र केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि सहभागी हुने बताए । उनले भने, चार दिनसम्म चल्ने महाधिवेशनमा करिब चार हजार अतिथिहरू आउनेछन् । ठूलो संख्यामा सहभागी हुने भएकाले तयारीलाई उच्च प्राथमिकताका साथ अघि बढाइएका छन् ।

उनका अनुसार जनकपुरधामको सांस्कृतिक, धार्मिक र पर्यटकीय पहिचानलाई प्रवद्रधन गर्ने उद्देश्यले महाधिवेशन यहाँ आयोजना गरिएको हो । महाधिवेशन सञ्चालनका लागि करिब ३ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान पनि उनले प्रस्तुत गरे ।

उद्घाटन सत्रका प्रमुख अतिथि चयनमा भने अन्योलता रहेको आयोजकको भनाइ छ । प्रबन्ध निर्देशक पंजियारका अनुसार राजनीतिक अस्थिरता र उच तहका व्यक्तिहरूको स्वास्थ्य अवस्था अनिश्चित रहेकाले प्रमुख अतिथि निश्चित गर्न कठिनाइ भएको छ । उनले भने, प्रधानमन्त्री सुशिला कार्कीलाई प्रमुख अतिथिमा आमन्त्रण गर्ने प्रयास भइरहेको छ तर केही प्राविधिक चुनौती छन् । राष्ट्रपतिको स्वास्थ्य अवस्था पनि सामान्य नभएकाले निर्णयमा ढिलाइ भएको हो ।

जेसीजका सल्लाहकार रमेश साहले नेपालमा यसअघि यति ठूलो र भव्यताका साथ महाधिवेशन सम्पन्न नभएको दाबी गरे । उनका अनुसार जनकपुरधाममा जेसीजको महाधिवेशन पाँचौँपटक हुन लागेको हो ।

उनले जनकपुरमा भएका विगतका महाधिवेशनको विवरण स्मरण गर्दै भने, सन् १९७७ मा अध्यक्ष लक्ष्मी बहादुर निराला र प्रबन्ध निर्देशक सीताराम सिकारियाको नेतृत्वमा पहिलो पटक यहाँ महाधिवेशन भएको हो । त्यसपछि १९९३ मा शम्भु साह अध्यक्ष हुँदा, २००३ मा सन्तोष साह अध्यक्ष हुँदा र २०१८ मा जितेन्द्र महासेठ अध्यक्ष हुँदा महाधिवेशन जनकपुरधाममै सम्पन्न भएको थियो ।