मन्त्री कुलमान घिसिंगलाई ट्याग गर्दै जेनजी वडाध्यक्षको आक्रोश–साला भेजा ताति सक्यो

काठमाडौं । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री समेत रहेका कुलमान घिसिंगलाई ट्याग गर्दै एक जेन–जी वडाध्यक्षले सामाजिक सञ्जालमार्फत कडा आक्रोश प्रकट गरेका छन् । पुल तथा सडक निर्माणका सुस्त र अव्यवस्थित प्रक्रियाप्रति आक्रोश पोख्दै उनले ‘सा-ला भेजा तातिसक्यो’ भन्दै असन्तुष्टि जाहेर गरेका हुन् ।

सबैला नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सरोज यादवले यस्तो आक्रोश पोखेका छन् । मन्त्रालय, सडक विभाग तथा विभिन्न सरकारी कार्यालय धाएर पनि सामान्य कामसमेत समयमा हुन नसक्ने व्यवस्था नै समस्या हो, उनले फेसबुकमा लेखेको स्टाटस्मा लेखिएको छ ।

बिज्ञापन

भौतिक पूर्वाधार मन्त्रालय अगाडि खिचिएको आफ्नो फोटो, वडामा निर्माणाधीन पुलको छोटो भिडियो र टिप्पणी फाईल लेखिएको फाईलको तस्वीरसमेत सार्वजनिक गर्दै उनले फेसबुकमा कडा आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्, उफ्फ, कालो जुत्ता सेतो भैसक्यो मन्त्रालयदेखि सडक–पुल विभाग धाउँदै । एक दिनमै हुनसक्ने काम महिनौँ लाग्ने टोरिलो प्रक्रिया छ । दश करोड लागतको पुलका लागि २० लाख मात्रै बजेट विनियोजन गर्छन् । यस्तो कानून र कार्यविधि बनाएका कारण एक महिनामा पनि काम अघि बढ्दैन ।

नदीमा हिलो लाग्दा समेत गा-ली खाने बाध्यता रहेको भन्दै उनले आफू वडाध्यक्ष भएर पनि दिनभर भौतिक, सहरी, सञ्चार लगायत विभिन्न मन्त्रालय धाउनुपरेको गुनासो पोखेका छन् ।

उनले लेखेका छन्, वडाध्यक्ष बस्नुपर्ने वडा कार्यालय म खाली छ, मचाहिँ पुल र सडकका लागि घरी भौतिक मन्त्रालय, घरी सहरी, घरी सञ्चार धाउँदै । मन्त्रीले विभागमा गर्दा पनि यो मिलेन, त्यो मिलेन…साला भेजा ताति सक्यो ।

सरकारी कामको ढिलासुस्ती, बजेटको असमान विनियोजन र प्रक्रिया जटिलताप्रति वडाध्यक्षले व्यक्त गरेको उनको सार्वजनिक रोष अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै गएको छ ।