धनुषा–सिरहा जोड्ने कमला पुलको डिजाइन नै गलत भएको भन्दै सडक विभागका कर्मचारीहरु छानबिनमा तानिए

जनकपुरधाम । धनुषा–सिरहा जोड्ने कमला नदीको निर्माणाधीन पुल गलत डिजाइनकै कारण भासिएको खुलेपछि सडक विभागका उच्च तहका अधिकारीहरू छानबिनको दायरामा तानिने भएका छन् । महालेखा परीक्षकको प्रतिवेदन–२०७९ ले पुलको डिजाइनमा ‘गम्भीर प्राविधिक त्रुटि’ देखिएको उल्लेख गर्दै प्रारम्भिक चरणमै कमजोरीका कारण संरचना नै असफल भएको निष्कर्ष निकालेको हो ।

प्रतिवेदन अनुसार पुलको पाइल (पाया) को लम्बाइ आवश्यक मानकभन्दा अत्यन्त कम राखिएको, माटो परीक्षणका लागि खन्नुपर्ने बोरहोलको संख्या र गहिराइ पर्याप्त नभएको, र निर्माणका क्रममा अनिवार्य मानिने ‘पाइल लोड टेस्ट’ नगरिएको तथ्य पुष्टि भएको छ । यी तीन प्रमुख प्राविधिक त्रुटिका कारण पुल अन्ततः भासिन पुगेको प्रतिवेदनले स्पष्ट गरेको छ ।

बिज्ञापन

उक्त पुलको प्रारम्भिक डिजाइन तत्कालीन पुल महाशाखाका सीडीई तथा हाल सडक विभागका महानिर्देशक डा. बिजय जैशीले तयार पारेका थिए भन्ने उल्लेख प्रतिवेदनमा छ । यस्तै, विभागका उपमहानिर्देशक प्रभातकुमार झा समेत यो प्रक्रियामा संलग्न रहेकाले दुवै अधिकारीसहित सम्बन्धित संरचनात्मक, प्राविधिक तथा प्रशासनिक जिम्मेवारीमा रहेका अन्य पदाधिकारी छानबिनको दायरामा पर्ने संकेत प्रतिवेदनले दिएको छ ।

कमला नदीको यो पुल पूर्व–पश्चिम हुलाकी राजमार्गको महत्वपूर्ण खण्ड मानिन्छ। पुल भासिएपछि धनुषा र सिरहाका बासिन्दा तथा यातायात व्यवसायीहरू आवतजावतमा परेको अवरोधका कारण निकै समस्यामा परेका छन् । लुुकतन्त्रमा आवश्यक सेवामा अवरोध आएको भन्दै स्थानीयहरू लगातार दबाब दिँदै आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागले प्रतिवेदनका निष्कर्ष अनुसार थप अनुसन्धान अघि बढाउने र आवश्यक अनुशासनात्मक कारबाहीमा जाने तयारी थालेको बुझिएको छ । अधिकारीहरूको भूमिकामा देखिएको लापरबाहीका विषयमा छानबिन पारदर्शी रूपमा अघि बढाई दोषी पुष्टि भए कडा कारबाही तथा पुनर्निर्माण कार्य तिब्रतर बनोस् भन्ने स्थानीयको अपेक्षा छ ।