समाज सेवा नै सबैभन्दा ठूलो धर्म हो : पूर्वराष्ट्रपति डा. रामवरण यादव

जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समाज सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको बताएका छन्।

धनुषा जिल्लाको दुर्गम क्षेत्र हंसपुर नगरपालिका–६, टिल्हीस्थित तपसी बाबा कलेजमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले समाजसेवी तथा शिक्षा प्रेमी गङ्गाराम यादवले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। भारतको दिल्लीस्थित मेधान्ता अस्पतालका विशेषज्ञ चिकित्सकहरू बोलाएर स्थानीयस्तरमै सेवा उपलब्ध गराइनु ठूलो गुन भएको उनको भनाइ थियो।

बिज्ञापन

डा. यादवले पछिल्लो समय यस क्षेत्रका युवाहरू कृषि कर्म छोडेर वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएको उल्लेख गर्दै त्यसका कारण मधेश प्रदेशका जिल्लाहरूमा विभिन्न सामाजिक विकृति बढ्दै गएको बताए। बिग्रँदै गएको स्वास्थ्य अवस्थाको सुधारका लागि आफ्नै खेतबारीमा उत्पादन भएका खाद्यान्नको उपभोग गर्नुपर्नेमा उनले जोड दिए।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रमा विशेषज्ञसहितको बृहत् स्वास्थ्य शिविर आयोजना गरी निःशुल्क औषधि वितरण गर्नु अत्यन्तै सराहनीय काम भएको बताए। उनले सबैलाई शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन आग्रह गरे।

हंसपुर नगरपालिकाकी उपप्रमुख दुर्गी देवी मण्डलले नेपाल र भारतका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सुरु भएको स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन स्थानीयवासीलाई आग्रह गरिन्।

शिविरका आयोजक समाजसेवी गङ्गाराम यादवले यस क्षेत्रका गरिब तथा विपन्न नागरिकले दिल्ली र काठमाडौँ पुग्नुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्यले आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए।

निःशुल्क स्वास्थ्य शिविरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. दिग्विजय कुमार ठाकुर, वरिष्ठ चिकित्सक डा. गौराङ्ग मिश्र, तपसी बाबा विद्यालयका प्रधानाध्यापक मदन कुमार महरा तथा जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्ग प्रसाद साहलगायतले धारणा राखेका थिए।

भोलीसम्म सञ्चालन हुने शिविरमा मुटु, मृगौला, बाझोपन, स्त्री तथा बाल रोग, नाक–कान–घाँटी, हाडजोर्नी, आँखा तथा सामान्य रोगको उपचारसँगै निःशुल्क औषधि वितरण गरिने आयोजकले जनाएको छ।