धनुषाको ४ वटै निर्वाचन क्षेत्रबाट एमाले पार्टी जित्छ : उपमहासचिव महासेठ

जनकपुरधाम । नेकपा एमालेका केन्द्रीय उपमहासचिव रघुवीर महासेठले धनुषाको ४ वटै निर्वाचन क्षेत्रबाट नेकपा एमाले पार्टी जित्ने दाबी गरेका छन् ।

उनले आफू ४ दिनको लागि कार्यावाहक प्रधानमन्त्री बनेको भन्दै एमाले मधेश विरोधी नरहेको बताए । उनले समाजिक सँजालमा एमाले मधेश र मधेशी विरोधी रहेको प्रोपागाण्डा फैलाएको आरोप लगाए ।

बिज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आयोजनामा पार्टीको १८औँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सम्मान कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री महासेठले धनुषा निर्वाचन क्षेत्रको सबै क्षेत्रबाट जित्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव महासेठले देश गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । गणतन्त्र संस्थागत भइसकेको ठानिए पनि प्रक्रियावादी गणतन्त्रविरोधी तथा केही विदेशी शक्तिहरूले गणतन्त्र समाप्त गर्ने षड्यन्त्र गरिरहेको उनको आरोप थियो । उनले ‘जेन जी’ को नाममा भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएका गतिविधि योजनाबद्ध रहेको दाबी गर्दै त्यसको विरोध आवश्यक रहेको बताए ।

महासेठले ‘जेन जी’ कुनै पार्टी वा आन्दोलन नभई एउटा पुस्ता भएको उल्लेख गर्दै एमाले र नेपाली कांग्रेसभित्रै ठूलो संख्यामा जेन जी रहेको दाबी गरे । दुवै पार्टीका जेन जी एक ठाउँमा उभिए ‘नकली जेन जी’ को नाममा भएका गतिविधि स्वतः अन्त्य हुने उनको भनाइ थियो । ती गतिविधि आकस्मिक नभई वर्षौँदेखि तयारी गरिएको योजनाअन्तर्गत गरिएको दाबी गर्दै विभिन्न उपकरण प्रयोग भएको आरोप लगाए ।

मधेश प्रदेशमा एमाले मत र सिटका आधारमा सबैभन्दा ठूलो पार्टी रहेको उल्लेख गर्दै महासेठले धनुषाका चारवटै निर्वाचन क्षेत्र एमालेले जितेको दाबी गरे । धनुषा क्षेत्र नं. १ मा जसपा नेपालको सांसद पनि एमालेकै मतबाट विजयी भएको भन्दै आगामी निर्वाचनमा पनि चारै क्षेत्रमा एमालेले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

एमाले चुनावविरोधी पार्टी भन्ने आरोपको खण्डन गर्दै महासेठले पार्टी चुनावको सामना गर्न तयार रहेको र उत्कृष्ट नतिजा ल्याउने दाबी गरे । तर वर्तमान सरकार असंवैधानिक रहेको आरोप लगाउँदै संविधानअनुसार पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको बताए । उनले प्रतिनिधि सभा पूर्ण पुनःस्थापना गरी संविधान र विधिअनुसार सर्वदलीय सरकार गठन गर्नुपर्ने माग गरे ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना भए एमालेले देशभर चुनावी तयारी तीव्र बनाइसकेको जानकारी दिँदै उनले आन्तरिक रूपमा नेता–कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइसकेको बताए । वर्तमान चुनावी सरकारका मन्त्रीहरूले पार्टी खोल्ने र गठबन्धन गर्ने गतिविधि गरिरहेको आरोप लगाउँदै यस्तो अधिकार चुनावी सरकारलाई नहुने उनको भनाइ थियो ।

महासेठले छानबिन र कारबाहीको माग गर्दै सिंहदरबार जलाउने, कैदी भगाउने र हतियार लुट्ने घटनाका भिडियो प्रमाण रहेको दाबी गरे । छठ पर्वका क्रममा रानीपोखरीमा मधेसी समुदायलाई पूजा गर्न नदिएको घटनाको प्रसंग उठाउँदै उनले त्यसबेला प्रधानमन्त्रीलाई ‘मधेशको छोरा’ भन्न नमिल्ने टिप्पणी गरे ।

आगामी निर्वाचन शान्तिपूर्ण रूपमा हुन कठिन रहेको धारणा राख्दै महासेठले फागुन २१ गते होलीकै दिन चुनाव घोषणा गर्नु गैरजिम्मेवार निर्णय भएको बताए । देशको वर्तमान राजनीतिक, सामाजिक र सुरक्षा अवस्था निर्वाचनका लागि अनुकूल नभएको उनको भनाइ थियो ।

विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य एवं  पूर्वमन्त्री जुलीकुमारी महतो, मधेश प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, हरिनारायण महतो, प्रतिक्षा तिवारी, लखन दास, मनोज खड्का र महोमद कैस सहभागी थिए ।

सम्मान कार्यक्रममा नव–निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिल्ला अध्यक्ष भोला यादव, सचिव दीप नारायण ठाकुर, उपाध्यक्ष तेजु यादवलगायत नेताहरूले दोसल्ला, मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष यादवले गरेका थिए भने सञ्चालन सचिव ठाकुरले गरेका थिए ।

अन्त्यमा उनले एमालेको प्रमुख माग प्रतिनिधि सभा पूर्ण पुनःस्थापना रहेको दोहोर्‍याउँदै सरकारमा रहेका मन्त्रीहरूले चुनावी गतिविधिमा सहभागी हुनुअघि राजीनामा दिनुपर्ने वा प्रधानमन्त्री बर्खास्त हुनुपर्ने बताए । गणतन्त्र र संविधानको रक्षा प्रमुख चुनौती बनेको उल्लेख गर्दै एमाले र नेपाली कांग्रेस संयुक्त रूपमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि अदालत गएको र आवश्यक परे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।