नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

जनकपुरधाम । धनुषाको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् ।

सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुर र सीमा बल एसएसबी सिमराडीले सीमास्तम्भ सङ्ख्या २७५/१ देखि १ किलो मिटर स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरले जनाएको छ ।

बिज्ञापन

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश कोइरालाको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबी नसिव सिंहको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए ।

गस्तीका क्रममा सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको थियो । यसैबीच, सीमावर्ती बजार क्षेत्रमा दुर्गन्ध बढ्दै गएपछि सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको डिएसपी कोइरालाले बताए । उनले नेपाल-भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन विभिन्न संयुक्त गतिविधि हुँदै आएको उल्लेख गर्दै सीमा क्षेत्रमा हरेक वर्ष सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।