जनकपुरधाम : मोबाईल मल पसलेमाथि अन्धाधुन खुकुरी प्रहार, एकजना पक्राउ

जनकपुरधाम । जनकपुरधाममा सामान्य मोबाइल किनबेचको विवादले अचानक भयावह रूप लिएको छ । एक व्यक्तिले मोबाइल पसलका कामदारमाथि खुकुरी प्रहार गर्दा गम्भीर अवस्था सिर्जना भएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ अगाडि रहेको मोबाइल मल पसलमा यो घटना भएको हो । मोबाइल खरिदकर्ता निर्भय मिश्राले पसलका कामदार नवीन कुसियैतमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

बिज्ञापन

धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेश बहादुर बमका अनुसार मोबाइल किन्ने विषयमा दुवै पक्षबीच विवाद चर्किएको थियो । सोही क्रममा मिश्राले कुसियैतमाथि ४ देखि ५ पटकसम्म खुकुरी प्रहार गरेका थिए ।

घटनापछि घाइते कुसियैतलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ, उनको उपचार भइरहेको छ ।

उता, आक्रमणकारी मिश्रालाई भने घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ ।

पसल सञ्चालक सदाम राइनका अनुसार मिश्राले करिब ६ महिना अघि ईएमआईमा (S25) मोबाइल खरिद गरेका थिए । तीन महिनादेखि किस्ता नतिरेपछि पसलका कामदारले ताकेता गर्दा विवाद सुरु भएको थियो । सोही पुरानो रिसिइबी आज ठूलो घटनामा परिणत भएको बताइएको छ ।

जनकपुरमा भएको यो घटनाले सानो विवाद कसरी ठूलो हिंसामा बदलिन सक्छ भन्ने गम्भीर संकेत दिएको छ । प्रहरीले घटनाबारे थपअनुसन्धान अघि बढाएको छ ।