2024-04-20

Close

राजपाको गुलाम होइन, पार्टी त्यागेर पनि जनकपुरको पहिचान मेट्न दिन्न : लालकिशोर साह

भदौ ११, २०७६

जनकपुरधाम – प्रदेश नं. २ राजधानी जनकपुरलाई विस्तार गरेर मिथिला माध्यमिकी परिक्रमाको मार्ग पर्ने स्थान तथा धनुषाको सम्पूर्ण भूभाग भनेर सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रदेश सभामा दर्ता गरेको प्रस्ताव विवादमा परेको छ । आफ्नै पार्टीले दर्ता गरेको प्रस्ताव जनकपुरधामको मौलिकता र अस्मिता मास्ने षड्यन्त्र भन्दै राजपाका प्रवक्ता समेत रहेका जनकपुरधाम उपमहानगरका मेयर लाल किशोर साहले फरक मत राखेका छन् ।

निर्णय नसच्चिए पार्टी नै छाड्न पनि आफू तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । राजधानीको सीमांकनमा अहिले देखिएको विवादबारे लोकान्तरका प्रदेश २ प्रतिनिधि अजय अनुरागीले मेयर साहसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सार :-

 

जनकपुरको पहिचान माथिको षड्यन्त्र

प्रदेशको राजधानी र नाम सम्बन्धमा विभिन्न राजनीतिक दलले प्रदेश सभामा प्रस्ताव दर्ता गराएका छन् । विना पूर्व तयारी र आकस्मिक रुपले नयाँ राजनीतिक षड्यन्त्र स्वरूप प्रस्ताव दर्ता भएको छ । प्रदेशको नामको सन्दर्भमा तत्काल म खासै टिप्पणी गर्न चाहदिनँ तर राजधानीको सवालमा जे प्रस्ताव आएको छ त्यो अत्यन्त दुःखद हो ।

 

खास गरेर राजधानीको नाम जनकपुरधाम नै भनेपनि अवैज्ञानिक तरिकाले रेखांकन तथा सीमांकन गरेर प्रस्ताव आउनु नै दुःखद हो । मिथिला माध्यमिकी परिक्रमाको मार्ग पर्ने स्थान तथा धनुषाको सम्पूर्ण भूभाग भनेर सीमांकन गर्ने काम हुनु जनकपुरधामको मौलिकता र अस्मिता साथै पहिचान माथिको षड्यन्त्र हो ।

 

जतिबेला प्रदेशको अस्थायी राजधानी नेपाल सरकारले जनकपुरलाई तोक्यो, हामी स्थानीय तहमा भर्खरै निर्वाचित भएर आएका थियौं । वीरगञ्ज लगायत अन्य जिल्लाका मानिसलाई दुःख लाग्ला भनेर हामीले दीपावली पनि मनाएनौं । प्रदेशमा ८ वटै जिल्लाका मानिस बीचको भाइचारामा, सौहार्दतामा खटपट आउन सक्ने तथा हामीले दीपावली मनाउँदा अरु जिल्लाका मानिसलाई दुःख लाग्न सक्छ भनेर दीपावली पनि मनाएनौं, न त कुनै उत्सव नै गर्‍यौं ।

 

जनकपुरधाममा प्रदेशसभा गठन भयो । सरकारको विभिन्न संरचनाहरू स्थापित हुन थाल्यो । सोही क्रममा धेरैजसो प्रदेश सांसदले जनकपुरमा राजधानी हुने कुनै आधार नै छैन भनेर गुनासो गर्न थाल्नुभयो ।
जनकपुरमा कोठा भाडा पनि धेरै महंगो छ । चियादेखि पान होस् वा खानेदेखि नास्तासम्म होटलले महंगो दर राखेका छन् । सडक पनि बनेको छैन, बाटोभरि हिलो छ, एक ठाउँ पनि सवारी त के पैदल हिँडेर जाने अवस्था छैन । त्यसमा पनि जनकपुर नगरपालिकाले लगाएको चुंगीकरको आतंकका कारण प्रदेश सभाका सांसदलाई अफ्ठ्यारो भयो भनेर गुनासो गर्न थाल्नुभयो । स्थायी राजधानी अन्तै लैजाने भनेर चेतावनी पनि दिन थाल्नुभयो ।

 

त्यतिबेला उहाँहरूको गुनासो जायज र स्वाभाविक पनि थियो । सबैभन्दा पहिले तत्कालै नगर कार्यपालिकाको बैठक बसेर मैले चुंगीकरलाई पछि नगर सभाबाट अनुमोदन गर्ने गरी खारेजी गर्ने निर्णय गरें । त्यतिबेला ३५ लाख जतिमा नगरपालिकाले चुंगीकर ठेक्का लगाएको थियो । ठेक्काको ८ महिनाजति म्याद बाँकी नै थियो । अहिले त्यो चुंगीकर भएको भए १ करोडभन्दा पनि बढीमा ठेक्का लाग्थ्यो । तर जनकपुरका जनताले तत्कालै त्यो त्याग गरे ।

जनकपुरको स्वरूप फेरिएको छ

सडक बनेको थिएन । १ वर्षसम्म अहोरात्र खटेर सबै सडकहरू बनायौं । जनकपुरका मानिसले राजधानीका लागि भन्दै आफ्ना घरहरू भत्काए, करोडौंको क्षति जनताले भोग्न तयार भए । मधेश आन्दोलनको मार परेको जनकपुरका व्यवसायीले सडक बनाउनका लागि घर भत्काएर फेरि ६ महिनासम्म व्यापारमा नोक्सानी व्यहोर्न तयार भए तर अहिले ती सबै त्यागपछि जनकपुरको स्वरूप फेरिएको छ ।

 

मैले पनि कार्यपालिकाको बैठक बसेर जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरेर जनकपुरधाम उपमहानगरपालिका नाम राखें । नेपाल सरकारले त्यसलाई अनुमोदन पनि गर्‍यो । जनकपुरधाम विगतमा पनि धार्मिकस्थल रहेका कारण नाम परिवर्तन गर्नु आवश्यक थियो । प्राचीन मिथिलाको राजधानीको रुपमा जनकपुरधाम रहेको मौलिकतालाई पुनः स्थापित गर्नका लागि त्यो गर्नु जरुरी थियो । नाम परिवर्तन भएपछि म आफैंले पसल पसलमा गएर लड्डु बाँडेको थिएँ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण भएको छ । जनकपुरधाममा आएर माता जानकीको दर्शन समेत गर्नुभएको छ । उहाँहरू आउँदा अन्तर्राष्ट्रिय विमान जनकपुर विमानस्थलमा पनि आउन सक्छ भनेर पुष्टि भएको छ । स्व. रविन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा उहाँसँग पटक–पटक भेटवार्ता गरेर जनकपुर विमानस्थलको स्तरोन्नतिको लागि मैले पहल गरेको थिएँ । अहिले जनकपुर विमानस्थलमा धेरै ठूलो सुधार आइसकेको छ ।

 

रिफ्युलिङ सेन्टर स्थापना भएको छ । अब यहाँबाटै जहाजमा इन्धन भर्न सकिन्छ । त्यसकारण हवाई भाडामा पनि प्रतियात्रु १२ सयदेखि १५ सयसम्म कम भएको छ । पहिले ७२ सिटको विमानले इन्धन अभावका कारण १२ देखि १५ जनासम्म कम यात्रु बोक्ने गरेका कारण टिकट महंगो थियो । नयाँ टर्मिनल भवनको अब छिट्टै उद्घाटन हुने अवस्थामा पुगिसकेको छ । रात्रिकालीन उडानका लागि पनि सबै कार्य सम्पन्न भइसकेको छ । विमान कम्पनी र प्राधिकरणबीच केही कुराको खटपटका कारण मात्र रात्रिकालीन उडान शुरू भएको छैन ।

 

मिथिला हेरिटेज सिटीको परिकल्पना

जनकपुरधाममा रेल्वे पूर्वाधार तयार भएको छ । केही महिनामै रेल सेवा पनि सुचारु हुनेछ । रेल्वे स्टेसनदेखि विमानस्थलको दूरी साढे ४ किलोमिटर मात्र छ, त्यो पनि सिधा बाटो । जनकपुरधाम शहरका विभिन्न ठाउँमा ‘हाई मास्क लाइट’ जडान गरेको छु । अब ‘स्ट्रिट लाइट’ पनि जडान गर्ने काममा लागेको छु । जनकपुरधाममा स्टेसनदेखि शिवचोकसम्म मिथिला हेरिटेज सिटीको परिकल्पना गरिएको छ । जनकपुरधाममा विभिन्न ठाउँबाट आउने जोडीको लागि वैवाहिक हबको गन्तव्य बनाउने रुपमा स्थापित गर्ने प्रयासमा छौं ।

 

जनकपुरधाम २ नम्बर प्रदेशको मात्र होइन, देशकै विभूति हो तर अहिले जनकपुरधामबाट अन्यत्र राजधानी लैजाने प्रस्ताव, वीरगञ्जदेखि अन्य शहरमा राजधानी लैजाने प्रस्ताव षड्यन्त्रपूर्वक आएको छ । वीरगञ्ज जाँदा त्यहाँका मेयर विजय सरावगीले पनि मलाई भन्नुभएको थियो कि तपाईंले जित्नुभयो । स्थायी राजधानीका लागि तपाईंले धेरै छिट्टै पूर्वाधार बनाउनुभयो ।

राजधानी जनकपुरधाम नै राख्नुस् भनेर मैले मुख्यमन्त्री लालबाबु राउतदेखि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलसँग पनि भेटेर कुरा गरेको थिएँ । सबैले भन्नुभएको थियो कि राजधानी जनकपुरधाम नै हुन्छ तर जालझेल गरेर जनकपुरधामको पहिचान नै समाप्त गर्ने गरी प्रस्ताव आएको छ ।

२०१५ सालमा पहिलो पटक जननिर्वाचित बीपी कोइरालाको सरकारले नेपालको जीवन मार्गको रुपमा पूर्वदेखि पश्चिमसम्म १८ सय किलोमिटर हुलाकी राजमार्ग बनाउने कुरा गर्नुभएको थियो तर राजा महेन्द्रले षड्यन्त्र गरेर पूर्वपश्चिम राजमार्ग बनाउनुभयो । परिणाम अहिले के छ भने हुलाकी राजमार्ग अहिलेसम्म बन्न सकेको छैन । छिमेकी मुलुक भारतसँग कटौरा लिएर भिख माग्दै हिँड्नुपरेको छ, तै पनि हुलाकी राजमार्ग बन्न सकेको छैन । ठीक त्यसैगरी अहिले नयाँ षड्यन्त्र भएको छ । जनता–जनताबीच भिडाएर संघीयता नै समाप्त पार्ने षड्यन्त्र शुरू भएको छ । जनकपुरधामको मौलिक पहिचानलाई समाप्त पार्दै पूर्वपश्चिम राजमार्गमा राजधानी लैजाने षड्यन्त्र स्वरूप प्रस्ताव आएको छ ।

म राजपाको गुलाम होइन

म राजपा नेपालको केन्द्रीय प्रवक्ता पनि हो । मेरै पार्टी राजपा र समाजवादी पार्टीले पनि जनकपुरधामको पहिचान समाप्त पार्ने काम गरेको छ । यदि जनकपुरधामको राजधानी अन्यत्र लैजाने प्रस्तावलाई राजपा र समाजवादी पार्टीले संशोधन गर्दैन भने त्यसले ठूलो प्रतिकूल स्थिति निम्त्याउने छ । अबुझ, अपरिपक्व निर्णय गरिएको छ । मलाई राजपाले टिकट दिएर मेयर भएको हो । यसको मतलब यो होइन कि म राजपाको गुलाम नै हो । अहिले म जनकपुरधाम उपमहानगरको निर्वाचित जनप्रतिनिधि पनि हो । विचारका लागि यदि पार्टी नै छोड्नुपर्छ भने त्यो ठूलो कुरा भएन । मलाई अहिले पनि विश्वास छ कि प्रदेश सभामा दर्ता भएको राजधानीको प्रस्ताव संशोधन हुन्छ र मात्र जनकपुरधाम रहने छ ।

 

अहिले जनकपुरधामको सीमांकन गर्नु जरुरी नै छैन । अहिले उपमहानगर छ । राजधानी भएपछि महानगरपालिका हुन्छ । त्यसले आफैं आफ्नो सीमा विस्तार गर्नेछ । तसर्थ जनकपुरधामको अस्मिता, पहिचान, मौलिकता आदि माथि खेलवाड भयो भने पछि राष्ट्रकै लागि पनि ठूलो क्षति हुन सक्ने स्थिति समेतलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक ध्यान दिन म विनम्र अनुरोध गर्दछु ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds