अप्पन समाचार,जनकपुरधाम, माघ १५ । प्रदेश नं. २को सरकार र डिफिडको सहयोगमा संचालित सिप परियोजना बीच अगामी ३ वर्ष भित्र ४५ हजार युवालाई रोजगार दिने भएको सम्झौता अनुरुप पुर्वाधार निर्माणको क्रम शुरु भएको छ ।
गत साउन महिनामा भएको सम्झौता अनुरुप विभिन्न सेवा प्रदायक संस्थाले प्रतिवद्धता अनुरुपको रोजगार सृजना गर्ने कार्य थालनी गरेको हो ।
आज मात्र मोरंग अटो वक्र्सले जनकपुरमा जेसिवी तालिम सेन्टरको शुभारम्भ गरेको छ भने रोजगारी पसलले यस अघि नै प्रदेश नं. २को विभिन्न स्थानमा घुम्ती रोजगारी पसल संचालन गर्दै वेरोजगार युवाहरुको लगत संकलन गरि रोजगार उपलब्ध गराउने काम शुरु गरि सकेको छ ।
मोरंग अटो वक्र्सको तालिम केन्द्रको शुभारम्भ गर्नु हुँदै मुख्यमन्त्री राउतले आजको प्राविधिक युगमा सिप विना रोजगारी खोज्नु रेगिस्तानमा पानी खोज्नु सरह हुने भएकोले प्रदेश सरकार युवाहरुलाई प्रविधिमा पहुँच बनाउन यस्ता कार्यक्रमहरुको थालनी गरेको उल्लेख गर्नु भयो ।
सिप परियोजनाका साझेदार संस्था लेवल स्टेपले पनि सर्लाहीको हरिवनमा गलैचा बनाउने तालिमको शुरुवात गरि सकेको छ भने एसविआई बैंक ले बैदेशिक रोजगारीमा जाने युवाहरुकोलागि आजै बाट सहुलियत ऋण उपलब्ध गराउने कार्यको शुभारम्भ गर्दै छ । त्यसै गरि प्रभु बैंकले भोलीबाट यो योजना शुरुवात गर्ने सिप परियोजनाका साविस अंसारीले जानकारी गराउनु भएको छ ।
युवा युवतीहरुलाई प्रविधिमा पहुँच बनाउदै रोजगार बनाउने योजना अनुरुप युके एडकै सहयोगमा प्रविधिमा महिला भन्ने कार्यक्रमको समेत जनकपुरमा आज बाट शुभारम्भ भएको छ । सो कार्यक्रमको समेत मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गर्दै युवतीहरुलाई प्रविधिमा पहुँच बढाउनु पर्नेमा जोड दिनु भयो ।
यता युके एडकै सहयोगमा जनकपुरलाई क्यासलेस बनाउने योजना अनुरु आइमईको सहयोगमा पैसा कार्डको समेत शुभारम्भ भएको छ ।