संशोधन प्रस्ताव फिर्ता लिन गिरिलाई पार्टीले दियो निर्देशन ,नलिए कारबाही हुन्छ : प्रमुख सचेतक अरगरिया

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएपछि पार्टीले उनलाई सो संशाेधन फिर्ता लिन निर्देशन दिएको छ ।

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो ।

बिज्ञापन

उनले आज विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो ।

उनले नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो ।  संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।

उनले भने, ‘हामीले संशोधन फिर्ता लिन लिखित निर्देशन नै दिएका छौँ। इमेलबाट पत्र पठाएका छौँ। भेटेरै पनि पत्र दिन्छौँ।’

गिरीले बुधबार संविधान संशोधन विधेयकको मूल मर्म नै सकिनेगरी संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। निशान छाप परिवर्तनसम्बन्धी विधेयकको दफा हटाउन माग गर्दै गिरीको संशोधन दर्ता भएको थियो।

सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमाथिको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छिन् ।

दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी संविधान संशोधनका लागि सरकारले विधेयक प्रस्तुत गरोको थियो ।