विपिन कुमार यादव,जनकपुरधाम : नेकपा सम्बद्ध युवा संघका नेता संजिव कुमार झा (सुरज)ले पनि खानेपानी मंत्री बिना मगरको राजिनामा माग गरेका छन् ।
मेलम्ची आयोजनाको सुरङ परीक्षण क्रममा गाडी दुर्घटनामा इन्जिनियर सतिश गोइतको मृत्यु भएको प्रकरणमा नेता झाले मंत्री मगरको राजिनामा मागेका हुन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘मेलम्चीको निर्माण कमसल भएर मरेको जनकपुरबासी ई. सतिस गोइतलाई न्याय दे, बिना मगर राजिनामा दे ।’
आयोजनाको सुरङ परीक्षणका क्रममा मंगलवार सुरुङको १७ नम्बर गेट फुट्दा गाडी नदीमा खसेर चालकसंगै इन्जिनियर गोइत बेपत्ता भएका थिए । सुरङ कसरी फुट्यो भन्ने विषयमा छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र मंत्री मगरले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने नेता झाको भनाई छ ।
उनले मृतक इन्जिनियर गोइतलाई शहिद घोषणा, उनको परिवारलाई क्षतिपूर्ति र परिवारका एक सदस्यलाई जागिर दिनुपर्ने माग पनि सम्बन्धित पक्षसंग माग गरेका छन् ।
धनुषाको कमला नगरपालिकाका ५ का इन्जिनियर गोइतको मृत्युले उनको साथीभाई, इन्जिनियर र आफन्त मर्माहत बनेका छन् । जनकपुरका युवाहरुले पनि आज मंत्री मगरको पुत्ला जलाउदै राजिनामा मागेका छन् ।