अप्पन जनकपुर
जनकपुरधाम । जनता समाजवादी पार्टीको प्रदेश २ का अध्यक्ष तोक्ने जिम्मेवारी केन्द्रीय अध्यक्षलाई दिइएको छ । १५ सदस्यीय प्रदेश कमिटीकालागि विभिन्न पदमा ७८ जना आकाक्षी देखिए पछि अध्यक्ष निर्धारण गर्ने जिम्मा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिइएको हो ।
केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष लालबाबु राउत, वर्तमान प्रदेश कमिटीका अध्यक्ष बिजय यादव, वरिष्ठ नेता महेन्द्र यादव लगायतका नेताहरुको सोमवार जनकपुरधाममा भएको बैठकमा बढी आकाक्षी देखिएपछि सो निर्णय गरिएको हो । प्रदेश अध्यक्षकै लागि १० जनाले आकांक्षा जाहेर गरेका थिए । जनता समाजवादी पार्टी बाट अल्गिएका लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्तालाई समायोजन गर्नकालागि पार्टीले नाम माग गरेका थिए ।
पार्टीले एक व्यक्ति एक पदको अवधारणा अवलम्वन गरी प्रदेश कमिटी, स्थानीय कमिटी र केन्द्रीय कमिटी पुनर्गठन गर्न लागेको हो । असोज २५ गते जनकपुरधाममा समायोजन सम्पन्न भएको थियो । समायोजनलाई पूर्णता दिनकालागि सोमवार जनकपुरधाममा बैठक बोलाइएको थियो । एक व्यक्ति एक पदको अवधारणा अनुसार बोलाइएको बैठकमा नेताहरुले आ–आफ्ना पद जाहेर गरेका थिए ।
बैठकले अध्यक्ष तोक्ने जिम्मेवारी केन्द्रीय अध्यक्षलाई दिएपछि अध्यक्षले पनि नेता कार्यकर्ताहरुको भावना अनुरुपको निर्णय सुनाउने उनीहरुले विश्वास व्यक्त गरेका थिए । एक व्यक्ति एक पदको व्यवस्था पार्टीमा भएपछि प्रदेश कमिटीका अध्यक्ष बिजय यादवले समायोजन भएको दिन नै राजीनामा गरेका थिए ।
तर, अध्यक्ष चयन हुन नसकेपछि तत्कालका लागि बिजय यादवलाई नै अध्यक्षको जिम्मेवारी दिइएको थियो । केन्द्रीय अध्यक्षले बिजय यादवलाई नै प्रदेश अध्यक्ष बनाउने सम्भावना देखिएको छ । प्रदेशका अधिकांश नेताले उनलाई नै अध्यक्ष बनाउने पक्षमा उभिएका छन् ।