अप्पन जनकपुर
काठमाडौं – आइसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा भारत विजयी भएको छ। सेमिफाइनलमा पुग्न असफल भारतले सुपर-१२ को अन्तिम खेलमा नामिबियालाई ९ विकेटले पराजित गरेको हो। जितसँगै भारत ६ अंकसहित समूह २ को तेस्रो स्थानमा रह्यो। यो समूहबाट पाकिस्तान र न्युजिल्याण्ड क्रमश: पहिलो र दोस्रो हुँदै सेमिफाइनल पुगेका छन्।
जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। भारतका ओपनर रोहित शर्माले ५६ रन बनाउँदा अर्का ओपनर केएल राहुलले अविजित ५४ रन बनाए। उनीहरु दुवैले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। सूर्यकुमार यादव २५ रनमा अविजित रहे। नामिबियाका ज्यान फ्राइलिंकले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। नामिबियाका डेविड वाइजले सर्वाधिक २६ रन बनाए। स्टेफन बार्डले २१ रन बनाउँदा फ्राइलिंक १५ रनमा अविजित रहे। भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान ३-३ विकेट लिए।
भारतले ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंक जोड्यो। भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको थियो। त्यसपछि उसको सेमिफाइनल प्रवेश सम्भावना कठिन बनेको थियो।
यो सँगै सुपर-१२ का सम्पूर्ण खेल सकिएका छन्। अब पहिलो सेमिफाइनल खेल बुधबार इंग्ल्यान्ड र न्युजिल्याण्डबीच शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ। दोस्रो सेमिफाइनल खेल बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ। फाइनल खेल आगामी आइतबार दुबईमा हुनेछ।