काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश र जिल्ला अध्यक्ष तथा पर्यवेक्षक चयनमा पार्टी भित्र कुनै विवाद वा असन्तुष्टि नरहेको नेता डा.सुरेन्द्र झाले बताएका छन् ।
उनले पार्टीका शीर्ष नेताहरुले सुझबुझका साथ नै प्रदेश नं. २ को अध्यक्ष, जिल्ला अध्यक्ष र पर्यवेक्षकहरु चयन गरेका बताएका छन् ।
लोकतान्त्रिक पार्टीभित्र विचारको बहस हुनु स्वाभाविक छ । यसले पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई दर्साउँछ । उनले भने, ‘फाटफुटरुपमा कसै–कसैले सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि व्यक्त गर्नुभएको होला, तर विवाद नै होइन ।
अप्पन जनकपुर डटकम संवाद,फोन सम्पर्कमा नेता डा.झालाई सोधिएको एक प्रश्नमा भने, ‘जितेन्द्र सोनललाई लक्षित गरेर कतिपयले प्रश्न उठाउनुभएको छ । तर यसमा असन्तुष्टि व्यक्त गर्नुपर्ने कुनै कारण छैन । उहाँ प्रदेश अध्यक्षका लागि योग्य र प्रदेश हाँक्नसक्ने क्षमता राख्नुहुन्छ ।’
उनले भने, जुन साथीलाई लागेको छ कि हामीले कुनै जिम्मेवारी दिइएन उहाँलाई भन्न चाहन्छु कि पार्टी अहिले आफ्नो समितिहरु समायोजनकै प्रक्रियामा छ । सबैले सम्मानजनक भूमिका पाउनु हुनेछ । पार्टीले सबैको असन्तुष्टिलाई सम्बोधन गर्नेछ ।