अप्पन जनकपुर
हामी नेपालीहरूको सनातन धर्मअनुसार तीनवटा देवताहरू ब्रहृमा, विष्णु र महेश्वरको विशेष महत्व रहेको बुझिन्छ । महेश्वर भनेका शिव र उनले मन पराउने वस्तु गाँजा हो भने उनको क्रीडास्थल हिमालय पर्वत हो । अत गाँजाको उद्गमस्थल सेन्ट्रल एसिया र विशेषतः हिमालयको वरपर मानिन्छ । गाँजा भगवान् शिवले सेवन गर्ने भएकाले विैदिक सनातन संस्कृतिमा यसको विशेष महत्व छ र यसले सनातन धर्मावलम्बी जनमानसमा जरो गाडेको छ । महाशिवरात्रिमा विश्वभरका साधु जोगीहरू पशुपतिनाथको दर्शन तथा गाँजा सेवन गर्न नेपाल आउने गर्छन् र नेपाली घरघरमा अद्यापि भगवान् शिवका नाममा गाँजाबाट निर्मित विशेष प्रकारको भाङ् सेवन गर्ने चलन छ । त्यसैले गाँजाको उपयोग गर्ने क्षेत्र पनि विशेषतः हिमाली क्षेत्र र त्यसको सेरोफेरो मात्र हुनसक्छ । अनि गाँजाले यहाँका संस्कृतिको झल्को दिन्छ ।