काठमाडौं । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द शाहले राजीनामा दिएका छन् ।
स्रोतका अनुसार गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भएको भइसकेको छ । जागिर अवधि अझै १३ महिना जति बाँकी रहँदा शाहले राजीनामा दिएका हुन् ।
शाहले जागिर छाडेको स्वीकारे । ‘हो, मैले राजीनामा दिएको हो’, हाल गृहजिल्ला धनुषामा रहेका शाहले भने । उनले २०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् ।
उनको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
शाहले नायब महानिरिक्षक (डीआईजी) मा बढुवा हुने सम्भावना नदेखिएकाले बेलैमा राजीनामा दिएको बताए । आसन्न स्थानीय चुनावमा धनुषाको विदेह नगरपालिकामा उनले पालिका प्रमुखमा उठ्ने तयारी गरिरहेका छन् ।
शाहले चुनावको तयारीमा लागिरहेको बताए । ‘मेयरमा उठ्ने तयारी गरिरहेको छु’, शाहले भने । उनले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरिरहेको पनि बताए । शाह २०७७ पुसमा एसएसपीमा बढुवा भएका थिए । – नेपाल प्रेस