2024-04-30

Close

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका अमित साह आफ्नी २६ वर्षीया पत्नी रिंकु साहको गर्भमा जुम्ल्याहा बच्चा रहेको जानकारी पाएसँगै सुरुदेखि नै सचेत थिए । रिंकुको सुत्केरीका बेला अपरेशन गरेर नै बच्चा निकाल्नुपर्छ भन्ने कुराको जानकारी पनि उनले चिकित्सकबाट पाइसकेका थिए । त्यसैले अमित सुरुदेखि नै सरकारी अस्पतालमा नगइ महिनैपिच्छे काव्या अस्पतालकी डा. सोनिया सिंहसँगै रिंकुको फलोअप जाँच गराउँदै आएका थिए ।

गत २५ मंसिरमा पनि रिंकुको स्वास्थ्यमा समस्या देखिँदा अमितले उनलाई सोनिया सिंहसँग परामर्शका लागि काव्या अस्पतालमा ल्याए । त्यसबेला डाक्टर सिंहले औषधि दिँदा रिंकुलाई सन्चो भएको थियो । अमित र रिंकु जुम्ल्याहा बच्चा पाउने भन्दै हर्षित थिए ।

आइतबार रिंकुलाई सुत्केरी बेथा लागेपछि उनलाई बिहान करिब १० बजे काव्या अस्पताल लगियो । उनलाई अपरेसन गर्नुपर्छ भन्ने कुराको पूर्वजानकारी अमितलाई थियो । सोहीअनुरूप डा. सोनियाले दिउँसो करिब १ बजे रिंकुलाई अपरेशन रुममा लगिन् । उनको अपरेसन सफल भइ करिब साढे १ बजे जुम्ल्याहा बच्चाको जन्म भयो ।

अपरेसनपछि डा. सिंहले पनि अब सबै ठीक रहेको कुरा अमितलाई सुनाइन् । त्यसपछि अमितको खुसी झन् दोब्बर भयो । उनी खुसी हुँदै अस्पतालकी स्विपरसमेतलाई पैसा बाँडे । उनका परिवारका अधिकांश सदस्य अस्पतालमै थिए । अमितको परिवारमा खुसीको सीमा थिएन ।

त्यतिकैमा उनीहरूको खुसीकै बीच एउटा दुःखद खबर आयो । अस्पतालले रिंकुलाई अपरेसनपछि अत्यधिक रक्तश्राव भइरहेकोले तुरुन्त रगतको व्यवस्था गर्न अमितलाई सुझायो । उनी पनि हतपत रगतको व्यवस्थामा जुटे । केहीबेरमै उनले चारपोका रगत अस्पताललाई उपलब्ध गराए । त्यतिबेलासम्म बिरामीसँग उनको परिवारका कुनै पनि सदस्यले भेटघाट गर्न पाएका थिएनन् ।

रगत उपलब्ध गराएको केहीबेरमै फेरि अमितलाई बोलाएर डा. सिंहले रिंकुको रक्तश्राव अझै नरोकिएकाले पाठेघर नै हटाउनुपर्ने सुझाव दिइन् । अमितले पनि अब दुईवटा बच्चा भइसकेकोले पाठेघर हटाउँदा केही फरक नपर्ने भन्दै पाठेघर हटाउने अनुमति दिए । डा. सोनियाले रिंकुको पाठेघर हटाएर उनलाई एनआइसियूमा सिफ्ट गरिन् । त्यसपछि अमितलाई बिरामीसँग भेट्ने अनुमति दिँदै उनी आफ्नो घर गइन् ।

अमितले रिंकुसँग भेट्न जाँदा उनलाई बिरामीको अवस्था खराब रहेको र उनी एनआइसियूमा रहेकोले भेट्न नपाउने भन्दै अस्पतालका कर्मचारीले प्रवेश नै गर्न दिएनन् । अमितको मनमा शंका उब्जियो ।

डाक्टरले विरामीसँग भेट्ने अनुमति दिए पनि अस्पतालका अन्य कर्मचारीले भेट्न नै नपाउने बताइरहँदा अमितले आफ्नो पत्नीको अवस्था कस्तो त्यो कुरा स्पष्ट थाहा पाउन अस्पताललाई दबाब दिए । त्यसको केहीबेरपछि अस्पतालका एक चिकित्सकले अमितलाई क्याबिनमा बोलाएर रिंकुको मृत्यु भइसकेको कुरा जानकारी गरायो ।

अमित छाँगाबाट खसेझैं भए । उनका एकछिनअघिका सबै खुसी दुःखमा परिणत भयो । अमिलाई चिकित्सकको कुरामाथि विश्वास नै लागेन । उनले अस्पतालको लापरबाहीले आफ्नो पत्नीको ज्यान गएको दाबी गरिरहे । डा. सिंहले अपरेसनकै बेला कुनै ठूलो गल्ती गरेर रिंकुलाई मारेको हुनसक्ने अमितको जिकिर छ । तर, उनको कुरा सुन्ने त्यहाँ कोही थिएनन् ।

रिंकुले डा. सिंहसँग नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । चिकित्सककै सल्लाहबमोजिम आइतबार अस्पतालमा भर्ना भएको अमितले बताए । यसबीचमा पनि रिंकु चिकित्सक सिंहसँग नियमित सम्पर्कमा रहेको उनले बताए ।

मृतकका आफन्तले पनि अस्पताल भर्ना भएपछि बच्चालाई जन्मदिएको धेरै बेरपछि आमाको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।

रिंकु करिब आठ वर्षअघि डा. सिंहसँगै जनकपुरकै धनुषा अस्पतालमा कार्यरत थिइन् । यता, अस्पतालले महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखिएको र अपरेसन गरेर बच्चा निकालेपछि उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ । मृतकका आफन्तले अस्पतालमा केही बेर प्रदर्शनसमेत गरेका छन् । तर, अस्पतालले रामानन्द चोकका प्रकाश मिश्राको नेतृत्वमा १०/१५ जनालाई बोलाएर परिवारजनमाथि नै हातपात गर्न लगाएको पीडित पक्षको आरोप छ ।

प्रकाशले अस्पतालमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मी अमरेश मल्लिकसहितकाको गुण्डागर्दी शैलीमा क्यामेरा बन्द गराउन लगाएर सबैलाई अस्पताल परिसरबाट बाहिर हटाएका थिए । मिश्राले सो क्रममा आफूसँग दुर्व्यवहारसमेत गरेको सञ्चारकर्मी मल्लिकले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds