अप्पन जनकपुर
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ लाइसेन्स तथा नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको हो ।
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) एकैपल्ट १० वर्षका लागि नवीकरण गर्न मिल्ने व्यवस्था गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ लाइसेन्स तथा नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको हो ।
हाल नयाँ लाइसेन्स परीक्षणकाल सहित पाँच वर्ष अवधिका लागि प्रदान गरिन्छ। हरेक पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नयाँ लाइसेन्सको अवधि र लाइसेन्स नवीकरण अवधि पाँच वर्षबाट १० वर्ष कायम गर्नको लागि सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको लागि प्रस्ताव गरी पठाइएको बताए ।
ऐन संशोधन भएसँगै एकपल्ट लाइसेन्स लिएपछि १० वर्षका लागि ढुक्क हुनेछ । यसैगरी लाइसेन्सको ट्रायल पास गरेको तीन दिनभित्र लाइसेन्स स्वीकृत गर्ने काम अघि बढेको छ । हालका लागि ट्रायल पास गरेको एक सातापछि राजस्व तिरेर अनुमतिपत्र प्राप्तिको प्रक्रिया सुरु हुन्छ ।
कानुनी, क्षेत्राधिकारलगायतका विषयका बाबजुत बागमती प्रदेश सरकारसमेतको समन्वयमा सेवाग्राहीलाई सजिलो बनाउन लागिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । उनका अनुसार राजस्व पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था गर्न लागिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अनलाइन भुक्तानीसहित परिमार्जित विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली यातायात व्यवस्था कार्यालय, सेवा कार्यालयमा लागू गर्नका लागि परामर्श सेवा खरिद भई कार्य अगाडि बढेको छ ।’
यातायात व्यवस्था विभागले १२ लाख स्मार्ट कार्ड आपूर्तिका लागि छनोट भएको जर्मन कम्पनीसँग २०७९ फागुन १० गते सम्झौता गरेको जनाएको छ । यसैगरी नयाँ छपाइ मेसिन खरिदका लागि पुनः सूचना प्रकाशन गरिएको छ । दोब्बर दरमा छपाइ गर्ने लक्ष्यसहित नयाँ प्रिन्टर मेसिन किन्न लागिएको हो ।